जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ २२ गते । सुनसरीमा १६ औ अन्तर्राष्ट्रिय गिद्ध दिवस मनाइएको छ । प्राकृतिको कुचिकार गिद्धको संरक्षण गरौं मुल नाराका साथ सुनसरीमा दिवश मनाएको हो । विगतमा प्राकृतिको कुचिकारको रुपमा परिचित रहेको तर अहिले लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणमा जुट्नुपर्ने बेला आएको सुनसरीका सरोकारवालाहरुले बताएका छन् ।
गिद्धको संरक्षणका लागि उसको बासस्थानको सुरक्षा र संरक्षणका लागि हातेमालो गरेर अगाडी बढ्ने बेला आएको कोशी टप्पु बन्यजन्तु आरक्षमा आयोजित एक कार्यक्रममा सहभागिले बताएका छन् ।सनिबार १६ औ अन्तर्राष्ट्रिय गिद्ध दिवसको अवसरमा कोशी टप्पु लर्निङ्ग ग्राउन्ड कोशी गाउँपालीका ३ ले आयोजना गरेको सचेतना कार्यक्रमका वक्ताहरूले गिद्ध संरक्षणमा जोड दिएका हुन ।
कार्यक्रमका प्रमुख अतिथि कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले पशुहरुमा प्रयोग गरिने डाइक्लोफेनक सोडियम नामक औषधी र त्यस्तै प्रकृतिका औषधी प्रयोगको कारण गिद्धहरुले त्यस्ता पशुको सिनो खादा गिद्ध मर्ने क्रम बढेको बताउनुभयो ।
सरकारले त्यस्ता प्रकृतिका औषधी प्रयोगमा निषेध गरेतापनि लुकीछिपी प्रयोग गर्दा समस्या आएको यादवले बताउनुभयो । कोशी प्रदेशमा कोशी टप्पुमा केही मात्रामा गिद्ध रहेको र अन्य ठाउँमा समेत नगन्य अवस्थामा पुगेकाले संरक्षणमा सबै जुट्नुपर्ने बताउनुभयो । आफू वार्डेन भएर आएपछि चोरी सिकारी नियन्त्रण गर्नुका साथै मध्यवर्ती क्षत्रेमा जनावर आतंक रोक्दै गिद्ध जस्ता लोपोन्मुख चराचुरुङ्गी र जनावरको संरक्षणको लागि समुदायसम्म जनचेतना जगाउने काम गर्दै आएको उहाँले बताउनुभयो ।
कोशी टप्पु लर्निङ्ग ग्राउन्डका अध्यक्ष राजकुमार सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कोशी गाउँपालीका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस कोशी गाउँपालीका सभापति सुलेमान मन्सुरी,श्री राष्ट्रिय मावि शोभनपुरका प्रधानाध्यापक हरेकृष्ण राउत, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, सरोकारवाला,श्री राष्ट्रिय मावि शोभनपुरका विद्यार्थी, शिक्षक, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध दिवस मनाइने गरिन्छ । गिद्धको महत्व, लोप हुनलागेको र संरक्षणको प्रयासबारे जनचेतना जगाउन दिवश मनाउदै आएको छ । सरकारी, गैरसरकारी संस्था, विद्यालय, क्याम्पस, विभिन्न सरकारी निकाय तथा सञ्चारमाध्यमको संलग्नतामा दिवस मनाउदै आएको जानकारी दिएको छ । दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाइँदै आएको गिद्ध राष्ट्रिय सचेतना दिवसबाट विकसित भई सन् २००९ देखि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो । सन् १९९० को दशकदेखि दक्षिण एसियामा गिद्धको सङ्ख्यामा कमी आएपछि संरक्षणको सवाल बाहिर आएको छ ।

१, सुनसरीमा १६ औ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसको अवसरमा आयोजित कार्यक्रमका सरोकारबालाहरु ।