जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज ७ गते । सुनसरीमा मधेसी, मैथली तथा थारु महिलाहरुले मनाउने आस्था, निष्ठा र निराहार वर्त बस्ने पर्व सोमबारदेखि जितिया पर्व सुरु भएको छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्वमा पहिलो दिन बर्तालुहरुले नहा खा (नुहाएर खानु) गर्दै जितिया सुरु भएको हो । श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा सोमबार ओंगठन, असोज ८ गते मङ्गलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५ः१५ बजे जितिया व्रत पारण उल्लेख रहेको कारण इनरुवामा जितिया व्रत सुरु भएको जनाएको छ । तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा (नुहाएर खाने) विधिबाट सुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मङ्गलबार बिहान ४ बजेदेखि मङ्गलबारको दिनभरि र रातभरि तथा बुधबार दिनभरि उपवास बस्नुपर्ने छ ,भने बुधबारकै दिन साँझ ५ः१५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको शास्त्री पण्डित कुन्जीलाल मेहताले बताउनुभयो । व्रत (उपवास) बस्नुअघि पहिलो दिन सोमबार महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन देवता र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रुपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।


त्यसैगरी, दोस्रो दिन मङ्गलबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी तेस्रो दिन बुधबार साँझ ५ः१५ बजे व्रत सम्पन्न गर्नेछन् । सयौँ व्रतालुहरुले जिल्लाको सदरमुकाम स्थित सुनसरी खोला, गडन खोला, सुनसरी मोरगं सिचाई योजनाको शाखा नहर तथा पवित्र पोखरीहरुमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । कथा भन्ने र सुन्ने क्रममा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ । व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेलसहितका पदार्थ चढाउनुभएको छ ।https://www.youtube.com/watch?v=tNGaF8D_54A


देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखासन्तानलाई पनि प्रसाद रुपमा सोही तेल लगाइदिने चलन छ । व्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा (कोदा )’ भनिन्छ ।
त्यसैगरी, विधिअनुसार मंगलबार एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती (व्रतालु) महिलाहरु ओङ्गठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओँठमा लगाउनुपर्छ । प्रायः जसो महिलाहरुले ओङ्गठनमा च्यूरा, दही खाने गरेको पाइन्छ ।
यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व उजागर गर्छ । पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सातजना छोराहरुलाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन रहेको छ ।
१, कोशी कटान जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेलसहितका पदार्थ चढाउदै जितिया वर्तालु महिलाहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा