अनिल श्रेष्ठ । इनरुवा

जिल्ला प्रशासन कार्यालय सुनसरीमा उपभोक्ता मञ्च नेपाल इनरुवा शाखाले बजार अनुगमन र कलाबजारी नियन्त्रणकाे माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।


सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीलाई छ बुदे माग र सुझाव सहितको ज्ञापनपत्र
जिल्ला प्रशासन कार्यालय सुनसरीमा पुगि बुझाएको मञ्चले जनाएको छ । ज्ञापनपत्रमा भनिएको छ ,
महोदय, उपरोक्त सम्बन्धमा हामी आम उपभोक्ताको पक्षमा वकालत गर्दै, उपभोक्ताका हक, हित अधिकार र उपभोक्ताको सुरक्षाको अधिकार, सेवा, बस्तु वा सामग्री छनौटको अधिकारको पक्षमा काम गर्दै आएको यहाँलाई सर्वविदितै छ । यसै सन्दर्भमा नेपालीहरुको महान चार्ड दशै सुरु भएको र आउन लागेको तिहार, छठ, समाचकेवा सहितको पर्वहरुमा बजारमा कालोबजारी, क्रितिम अभाव सृजना, मूल्य सुचि नराख्ने, मूल्यमा एक रुपमा नहुनु, तौल सहि नदिनु लगायतको समस्या रहेको विगतको अनुभवलाई ध्यानमा राखेर बजारमा नियमित अनुगमन र प्रभावकारी अनुगमनको माग सहित यो ज्ञापन पत्र बुझाउन आएका छौं । प्रमुख जिल्ला अधिकारी समक्ष हामीले निम्न ६ बुँदे माग सहितको ज्ञापन पत्र बुझाउन आएका हौं ।

उक्त ज्ञापनपत्रमा माग तथा सुझावहरुमा हालको चार्डपर्वको अवस्थालाई मध्यनजर गर्दै बजारमा बढेको कालोबजारी नियन्त्रणका लागि तत्काल ठोस कदम उठाउनुपर्ने,समग्र उपभोक्ताको हितलाई ध्यानमा राखेर बजार व्यवस्थालाई चुस्त बनाउनुपर्ने भनिएको छ । त्यसैगरी लामखुट्टेको टोकाईबाट सर्ने डेङ्गु जस्ता रोगको नियन्त्रणका लागि आवश्यक प्रयोगशाला तथा किटहरु निःशुल्क रुपमा उपभोक्तालाई उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्ने,ठोस निति सहित नियमित बजार अनुगमन, अवैध रुपमा सञ्चालन भएको पसल, शैक्षिक संस्था, कोचिंग ताथा होस्टलहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने, स्वास्थ्य संस्थाहरु, औषधी पसलहरु तथा शैक्षिक संस्थाहरुको अनुगमालाई कडाइका साथ लागु गरी उपभोक्ताहरुलाई ठगिनबाट बचाउनुपर्ने, भ्रमपूर्ण प्रचार गरी आम उपभोक्तालाई ठगी गरीरहेकाले आवश्यक अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउनु पर्ने र यातायातका साधनमा आधिकृत भाडा असुल्ने, सेवाग्राही यात्रुलाई सास्ती दिने, हिसाँ जन्य गतिविधि गर्ने कार्यालाई निरुत्साहित गरी त्यसो गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरिएको छ । मञ्चका इनरुवा अध्यक्ष शंकरनाथ श्रेष्ठ र सचिव अनिल श्रेष्ठ सहितको हस्ताक्षरमा ज्ञापनपत्र बुझाएको जनाएको छ ।