यसरी डुव्दै छ विराटनगरको क्यासिनोमा नेपाली युवा
विराटनगर । सुनसरी जिल्लाको वाङ्गे बजारका एक जना व्यवसायी युवा अहिले पशु ठेक्कामा लागेका छन् । छ महिना अघि राम्रो हैसियतका ति युवा अहिले साप्ताहिक हाटका ठेकेदार भएर गुजारा टार्दै आएका छन । उनको यो हातल त्यसै भएको भने होइन् । उनी विराटनगरको विग होटलमा सञ्चालित क्योसिनोमा धानउ थालेपछि उनको यो अवस्था भएको हो । तीन महिनाको अवधिमा उनले झण्डै ३ करोड रुपैया क्यासिनोमा हारेको स्रोतले जानकारी दिएको छ ।
यस्तोमा केही स्रोतलाई थप पुष्टि गर्न बाकी रहेकोले थप समाचार आउन बाकी छ ।

प्रशासनको कमजोरीका कारण अहिले विराटनगरस्थित होटल बिगमा सञ्चालित च्याम्पियन जोन प्रा.लि. (क्यासिनो)मा नेपालीको सहजै पहुच रहेको छ । कानुनी रुपमा विदेशीले मात्र प्रवेश पाउने क्यासिनोमा नेपाली युवाहरुले सहजै पहुच पाउदा अहिले घर वार विहिन हुने अवस्थामा पुग्न थालेका छन् ।
विराटनगरमा बिग होटलमा च्याम्पियन जोन प्रा.लि. र रत्ना होटलमा सम्राट क्यासिनो प्रा.लि. सञ्चालनमा छन् । समयमा नविकरण नभएको कारण रत्ना होटलको क्यासिनो भने केहि समयदेखि बन्द छ ।
क्यासिनोमा नेपाली प्रवेश गराएकोबारे दुबै क्यासिनोका सञ्चालकहरुको एउटै भनाइ छ, ‘आधार कार्ड वा भारतीय परिचयपत्र देखाएपछि मात्रै हामी मान्छे छिराउँछौं ।’ तर, विराटनगरका मारवाडी समुदायका अगुवाहरु यो कुरा अस्वीकार गर्छन् । ‘प्रहरीले कडाई नगरिदिँदा मारवाडी समुदायका युवा व्यवसायी र मधेशी समुदायका व्यापारिक घरानाका युवाहरु क्यासिनोको लतले डुबिसके,’ विराटगरकै एक मारवाडी समुदायका अगुवाले भने, ‘सार्वजनिक ढंगले क्यासिनोले डुबायो भन्नसक्ने अवस्था पनि छैन । नभन्दा पनि क्यासिनोमा गएर पैसा सकियो । व्यापार चौपट भयो ।’
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना औद्योगिक र व्यवसायिक घरानाकाका कतिपय युवाहरु क्यासिनामा नियमित जाने गरेको आफूले सुनेको बताउँछन् । ‘मसँग पनि कतिपय गुनासो आएको छ । यसलाई कसरी रोक्ने चुनौति बनेको छ,’ सुरानाले भने, ‘मैले जाने सुनेकै मान्छेहरु पनि क्यासिनोमा डुबेको देखेको छु ।’
प्रहरीकै कतिपय अधिकारीहरुले दिएको जानकारी अनुसार क्यासिनोमा निर्वाध रुपमा नेपाली छिराइरहेको अवस्था छ । ‘मेसिनबाट खेलाउनु पर्ने क्यासिनो तास र कौडाको रुपमा हातैले खेलाइरहेका अवस्था पनि छ’ स्रोतले भन्यो, ‘क्यासिनो नियमावलीमा अटोमेटिक मेसिनमा मात्रै खेलाउन पाइने नियम छ ।’ प्रहरी स्रोत त ठोकुवा गरेरै भन्छ, ‘प्रहरी प्रमुखलाई क्यासिनो सञ्चालकले मासिक रकम बुझाउने गरेकोले प्रहरीले पनि वेवास्ता गरेको छ ।’
क्यासिनो सञ्चालन नियमावली, २०७० अनुसार क्यासिनो सञ्चालन गर्न इजाजतपत्र लिन चाहने कम्पनीले निवेदन दस्तुरवापत १० लाख रुपैयाँ बुझाउनुपर्छ भने आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा त्यस्तो क्यासिनो कम्पनीले ५ लाख रुपैयाँसहित विभागमा निवेदन दिनुपर्छ । इजाजतपत्र दस्तुरका लागि भने ठुला क्यासिनोका लागि २ करोड रुपैयाँ र साना क्यासिनोका लागि एक करोड रुपैयाँ लाग्ने व्यवस्था छ ।
—
