blog

दसैँ सुरु भएसँगै सुनसान बनेको फुङ्लिङ बजार। तस्बिर : चन्द्र पन्दाक।

facebook sharing button
twitter sharing button

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज २४ गते। दसैँ सुरु भएसँगै ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार सुनसान हुन थालेको छ। दसैँ चाड मनाउन गाउँघर फर्कनेहरूका कारण फुङ्लिङ बजार सुनसान बनेको हो। 

सदरमुकाममा व्यापार गर्दै आएका व्यापारीदेखि कर्मचारी, विद्यार्थी र सर्वसाधारणसमेत दसैँ बिदामा चाडपर्व मनाउन गाउँबस्ती फर्केपछि बजार सुनसान बनेको छ। केही टाढा घर भएकाहरू दुई/तीन अघिदेखि नै गाउँ फर्कन थालेको थिए। 

सदरमुकाममा बसेर पढ्ने विद्यार्थी, टाढाका शिक्षक, रोजगारी गर्दै आएका सर्वसाधारण मजदुरलगायत केही दिनअघि नै गाउँ फर्केपछि बजार सुनसान हुँदै गएको थियो। बुधबारदेखि सबै सरकारी कार्यालय बिदा भएसँगै कर्मचारीहरू पनि आ–आफ्नो घर गाउँ लागेपछि बजार थप सुनसान भएको हो। यसरी गाउँघर फर्कनेका कारण बजार सुनसान हुँदै गएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले बताउनुभयो।

अध्यक्ष थापाका अनुसार आजसम्म बजारमा सामान्य चहलपहल रहे पनि शुक्रबारदेखि ठप्प हुने छ। स्थानीय बजारवासी यहीँ रहे पनि पसलहरू नखुल्ने हुँदा बजार पूर्णरुपमा सुनसान हुने उहाँको भनाइ छ। 

दसैँ सकिएपछि मात्र बजारमा चहलपहल सुरु हुने थापाले बताउनुभयो। यता यतिबेला गाउँघरमा भने निकै चहलपहल बढेको छ। सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका स्थानीय सञ्जय लिम्बूले अहिले दसैँ मनाउन घर फर्कनेहरूका कारण गाउँघरमा चहलपहल बढेको बताउनुभयो।