मुस्लिम धर्मावलम्बीहरुको धार्मिक प्रवचन जलसा-ए-आम हरिनगरमा सुरु हुदै
सुरेन्द्र कुशवाहा
हरिनगर । मुस्लिम धर्मावलम्बीहरुको दुई दिने धार्मिक प्रवचन जलसा-ए-आम भोलि शुक्रबार देखि सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ र २ स्थित भुटाहा जामअतुल् इस्लाह अल् इस्लामिया मदरसामा हुन लागेको छ । जलसा-ए-आमको सम्पूर्ण तयारी पुरा भएको आयोजक समितिले जनाएका छन् । कार्तिक महिना २ र ३ गते दुई दिने विशाल जलसा-ए-आम (धार्मिक प्रवचन ) कार्यक्रमलाई इस्लामी संघ नेपाल कोशी प्रदेशले आयोजना गरिएको हो । इस्लामी संघ नेपाल कोशी प्रदेशले सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ र २ स्थित अवस्थित रहेका जामअतुल् इस्लाह अल् इस्लामिया मदरसामा शुक्रबारदेखि सुरु हुने दुई दिने विशाल जलसा-ए-आम (धार्मिक प्रवचन) कार्यक्रम शनिबार राति सम्पन्न हुने आयोजकले जनाएका छन् । दुई दिने विशाल जलसा-ए-आम (धार्मिक प्रवचन) कार्यक्रम शुक्रबार बिहान ९ बजे कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख अथितियमा उद्घाटन हुने आयोजकले बताएको हो ।

कुरआन र सुन्नततर्फ आउनुहोस् भने शिर्षकमा धार्मिक प्रवचन हुने प्रवचनमा मुस्लिम समुदायका मान्छेहरुलाई ईस्लामिक सरियत कानुन अनुसार हिड्न र ईस्लामिक सन्देश दिन वक्ताहरुले ईस्लाम धर्मको मुल्यमान्यता विपरीत कुनै पनि काम नगर्न प्रवचन दिने छन् ।

उक्त जलसा कार्यक्रममा पुरुष र महिला दुवैको सहभागी रहने छ । महिलाहरुको लागि छुट्टै सुरक्षित पर्दा सहितको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । सो धार्मिक प्रवचन कार्यक्रममा २५ हजार भन्दा बढिको सहभागिता गराउने आंकलन आयोजक गरिएकाे छ ।
