जयकृष्ण यादव । इनरुवा
इनरुवा, साउन १८ गते । सप्तकोसी नदिको पश्चिम तर्फको बाँध फुटाएर बस्तीमा पसेर प्रभावित बनाएको समाचार बाहिर आएपछि प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की घटनास्थल पुग्नुभएको छ । उदयपुरको बेलका नगरपालिका–८ स्थित डुम्री बोटे (लाहुरे खोज) भन्ने ठाउँ सप्तकोसी नदी बस्तीतिर पसेकाले त्यसको अवस्था र असरका बारेमा जानकारी लिन तथा थप सहयोग, उद्धार र राहतको पहलका लागि कानुन मन्त्री केदार कार्की बुधबार मध्यान घटनास्थल पुग्नुभएको हो ।


मन्त्री काकीसगैं सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहित सुरक्षा अधिकारीहरु, बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की सहितका जनप्रतिनिधिहरु पनि बाध फुटेको घटनास्थल पुग्नुभएको छ । वहाँहरुले आआफ्नो ठाउँबाट सहयोग र समन्वयन गर्ने बारेमा छलफल समेत गर्नुभएको छ ।
यस क्षेत्रमा दुई सातादेखि बाढी रोक्न प्रयास गरे पनि बुधवार बिहान करिब चार बजे सप्तकोसी नदिको पानीले बाँध फुटाएर बस्तीमा प्रवेश गरेको हो । बाढी रोक्न नगरपालिकाको तर्फबाट प्रयास भए पनि कोसीमा पानीको बहाव बढेसँगै आएको बाढीले नियन्त्रणको लागि निर्माण गरेको बाँधलाई फुटाए पछि बेलका नगरपालिकाका दर्जनौँ बस्ती, हजारौँ परिबार जोखिममा परेका छन् ।
बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार अहिले बेलकाका करिब १० हजार घर डुबानको जोखिममा छन् । डुबानको जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा लैजान थालिएको उहाँले बताउनुभयो ।
डुम्रीबोटे लाहुरे खोजबाट पसेको कोसीको बाढीले सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलङ्का टापु, भागलपुर, रामनगरका स्थानीय प्रभावित भएको कार्कीले जानकारी दिनुभयो ।


कोसीको बाढी पस्दा बेलकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलङ्का टापु, भागलपुर, गरैया, तपेश्वरी लगायतका बस्ती र छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कन्चनरुप र सुनसरीको बराहक्षेत्र नगरपालिकाको ६ र ९ को श्रीलङ्का टापुमा समेत क्षति पुग्ने खतरा रहेको बताइएको छ ।
जोखिममा परेका गाउँका स्थानीयहरू सुरक्षित स्थानको खोजी गर्दै आफ्नो घरमा लत्ताकपडा, चौपायाहरू लिएर निस्किएका छन् । प्रभावित स्थानीयहरूलाई सुरक्षित गराउन नगरपालिका लागिपरेको नगर प्रमुख कार्की बताउँछन् ।
सप्तकोसीले ४०÷५० बिगाहा जमिन कटान गरे पछि बाढी बस्तीतिर पसेको बेलका नगरपालिका वडा नं ८ का अध्यक्ष जयकुमार राईले बताउनुभयो । सप्तकोसीले दैनिक रूपमा ३ देखि ५ मिटरसम्म कटान गरिरहेको थियो ।