दिलिपचन साह । इनरुवा

संकीर्ण सोच र नाताबादबाट माथि उठ्न सके मात्र इनरुवाको श्री राजाजी रामजी महतो दास माविको शैक्षिक वातावरण राम्रो हुन्छ।

विक्रम सम्वत् २०१९ सालमा स्थापना भएका इनरुवाको पुरानो विद्यालय मध्ये श्री राजाजी रामजी महतो दास माविको प्रअ नियुक्तिको विवाद उत्कर्षमा पुगेको छ। मावि राहतको शिक्षक नारायण प्रसाद मेहताले नि.प्रअबाट दिएको राजीनामा पश्चात शिक्षा नियमावली अनुसार त्यस विद्यालयको वरिष्ठ स्थायी शिक्षक विष्णुप्रसाद मेहताले स्वतः निमित्त प्रअ भइ काम गर्न पाउनुपर्नेको सट्टा केही व्यक्तिहरूले पुनः राहतको शिक्षक नारायण प्रसाद मेहतालाई नै नि.प्रअ बनाउने खेलमा लाग्नु दुर्भाग्यपुर्ण छ।

शिक्षा नियमावलीमा राहत शिक्षकलाई प्रअ बनाउने कुरा कतै उल्लेख गरिएको छैन।

विक्रम सम्वत २०७५ सालदेखि नि.प्रअ रहनुभएका नारायण प्रसाद मेहताको कार्यकालमा यस विद्यालयको बालविकास सहित प्रावीको दरबन्दी कट्नु, माविमा पाँचवटा दरबन्दी हुनुपर्नेमा चारवटा मात्र रहनु पाँचौं दरबन्दी ल्याउन नसक्नु, आयोग पास गरेका योग्य शिक्षकहरूलाई विद्यालयमा सरुवा सहमति दिनुको सट्टा आयोग पास गर्न नसकेका व्यक्तिहरुलाई शिक्षकमा नियुक्ति गर्नु समग्र समाजको लागी राम्रो होइन।

यही निर्वाचन क्षेत्रको यो विद्यालय भन्दा पछाडि मावि बनेका गौतमपुरको श्री जनता मावि जस्तै अन्य माविहरुमा +२ को कक्षा सञ्चालन हुन सक्ने तर सदरमुकामको यस विद्यालयमा +२ को कक्षा सञ्चालन गर्न पहल समेत गर्न नसक्ने राहतको शिक्षक नारायण प्रसाद मेहतालाई पुन: नि.प्रअ बनाउने खेलमा लाग्नु कतिको सान्दर्भिक छ ?

नेपाल सरकारको पूर्व राज्यमन्त्री श्री सीताराम मेहता, वर्तमान प्रदेश सांसद माननीय रामप्रसाद मेहता, जिल्ला समन्वय महासंघको केन्द्रीय सभापति श्री राजन मेहता, इनरुवा नगरपालिकाको वर्तमान उपमेयर श्री बिनिता मेहता लगायतको राजनितिकर्मीहरु रहेको यस वार्डको यस विद्यालयमा उब्जेको प्रअ नियुक्तिको विवाद सेटलमेन्ट निष्पक्ष रुपमा गर्नुपर्छ।स्थानीय र बाहारिया भनेर विभेद गर्नु भएन।