जयकृष्ण यादव । इनरुवा
इनरुवा, मंसिर ३ गते । सुनसरीको इटहरीमा बसको ठक्करले एक बालिकाको मृत्यु भएको छ । आईतबार सुनसरी इटहरी उपमहानगरपालिका वडा नं. १० रिलाईन्स कम्पनी स्थित काकडभिट्टाबाट विराटनगर तर्फ जादैँ गरेको प्रदेश १–०१–००१ ख.४५७४ नम्बरको बसले ठक्कर दिदाँ १४ बािर्षया बालिका सम्झना यादवको मृत्यु भएको हो । आईतबार इटहरी उपमहानगरपालिका वडा नं. १० डुमरटका टोलका नारायण यादवको १४ वर्षिया छोरी सम्झना यादवलाई बसले ठक्कर दिदा घटनास्थलमा नै मृत्य भएकोमा तत्काल घटनास्थलमा रहेको स्थानीयहरूले बसलाई ढुङ्गामुढा गर्दै आगजानी गरेको छ । आक्रोषित स्थानीयले बसमा गरेको आगजनीबाट जोगाउन आगो निभाउन प्रहरी टोली र दमकललाई समेत रोकेको थियो । आगो निभाउन खोज्दा ५००÷६०० जनाको समूहले प्रहरी माथि नै ढुङ्गा मुढा गर्दा जिल्ला प्रशासन कार्यालका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सुमन कुमार तिम्सिना, इलाका प्रहरी कार्यालय ईटहरी, इलाका प्रहरी कार्यालय धरान, इलाका प्रहरी कार्यालय दुहवी, इलाका प्रहरी कार्यालय पकली र इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट ११८ जनाको टोली समेत खटेको थियो ।
स्थितीलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयले ढुङगा मुढा गरेकोले तत्काल प्रहरीले लाठ्ठी, चार्ज, अस्र्यु ग्याँस र हवाई फायर समेत गरिएको थियो । घटनामा निम्न प्रहरी कर्मचारीहरू समेत घाईते भई स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिनुभयो । उहाँले सवारी चालक मोरङको बिराटनगर महानगरपालिका वडा नं. १३ का २७ वर्षिय अमित श्रेष्ठ इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । घटना स्थलमा आफू सहित २० बढी सुरक्षाकर्मी घाईते भएको प्रहरी उपरीक्षक तिम्सिनाले बताउनुभयो । मृतक बालिकाको लास कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि कोशी अस्पताल विराटनगर पठाईएको छ । बसमा भएको आगजनी नियन्त्रणका क्रममा प्रहरीहरू प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्रचार्य, प्रहरी नाउव उपरीक्षक लक्ष्मी भण्डारी, प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिना, प्रहरी निरीक्षक सागर तिमल्सिना, प्रसनि आनन्द पोख्रेल, प्रहरी हबलदार गोमा राउत सहित घाईते हुनुभएको छ ।
त्यसैगरी प्रहरी सहायक निरीक्षक भुपराज पोख्रेल, प्रहरी बरिष्ठ हबलदार समिर सापकोटा, अयोधी यादव, प्रहरी हबलदार सरोज पोख्रेल, श्याम नारायण यादव , कल्याणी आचार्य , सशस्त्र प्रहरी हबलदार राकेश न्यौपाने, दिपक राई, लोक नाथ धमला, असोक राई , गणेश तिमल्सिना, सुमन खड्का, सन्दिप कुमार मोक्तान, प्रकाश दाहाल सहित २८ जना घाईते भएका छन् ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीबाट ईन्सासबाट ११ राउण्ड हवाई फायर, ग्यास गनबाट ७ सेल, इलाका प्रहरी कार्यालय ईटहरीको टोलीबाट ग्यास गनबाट ३ सेल, एसएलआरबाट २ राउण्ड (जंगी), दुहबी दंगाको टोलीबाट ३०३ राईफलबाट २५ राउण्ड हवाई फायर (ब्ल्यांक), सटगनबाट ७ वटा रबर काटिज र ग्यास गनबाट १ सेल फायर गरि जम्मा फायर ईन्सासबाट ११ राउण्ड, ग्यास गनबाट ११ सेल, ३०३ राईफलबाट २५ राउण्ड ब्ल्याङ्क, एसएलआरबाट २ राउण्ड, सटगनबाट ७ काटिज गरी ५६ राउण्ड फायर गरेको जनाएको छ । उता सर्वपक्षिय छलफल गरिएको छ । ईटहरीको नगर प्रमुखको कार्य कक्षमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, पीडित पक्षका मानिसहरु बिच छलफल भएको छ । छलफलमा अरु थप हिंसा भड्कन नदिने, पीडितलाइ यथासक्य चाँडो न्याय दिलाइ दिने र घटना सम्बन्धमा सुक्ष्मरुपमा अध्ययन अनुसन्धान गरी दोषि उपर कानुनि कार्वाही गरिने निर्णय भएको तिम्सिनाले जानकारी दिनुभयो ।