रथ यात्रामा सहभागी सबैलाई खाना खुवाउने
![](https://jajnews.com/wp-content/uploads/2024/11/IMG_20241129_143842.jpg)
जयकृष्ण यादव । इनरुवा
इनरुवा,मंसिर १४ गते । सुनसरीको इनरुवा नगरपालिकामा विवाह पञ्चमीको अवसरमा निकालिने सीताराम रथ यात्रामा सहभागी सबैलाई प्रसाद सहित खाना खुवाउने भएको छ । वर्षमा एक पटक हुने समारोह भएकाले सिताराम रथ यात्रामा सहभागी हुने पाँच हजार बढी भक्तजनहरुलाई खाना खुवाउने भएको छ ।
रामजानकी मन्दिरबाट निकालिने रथ यात्रामा सहभागी सबैलाई रामजानकी गुठी संस्था इनरुवाले खाना खुवाउने पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । शुक्रबार सुनसरीको इनरुवा ४ स्थित रामजानकी मन्दिरमा गुठीले पत्रकार सम्मेलनको आयोजना गरी गरेर तीन दिनसम्म विवाह पञ्चमी मनाउने र अन्तिम दिन मंसिर २१ गते शुक्रबार भव्य रुपमा रथ यात्रा निकालिने र त्यसमा सहभागीहरुलाई निशुल्क खाना खुवाउने जानकारी दिएको हो ।
![](https://jajnews.com/wp-content/uploads/2024/11/Messenger_creation_6CC0E757-88A3-4DFA-9827-CDF25AD43318-774x1024.jpeg)
रामसीता रथयात्रा तथा डोलामा पाँच हजार बढी नगरबासीहरु सहभागी हुने र एक सय बढी बाबासन्तहरु शंख र घण्ट सहित सहभागि हुने आयोजकले जनाएको छ ।
रामजानकी गुठी संस्थाले इनरुवा नगरपालिका क्षेत्रमा मंसिर २१ गते विवाह पञ्चमीको दिन डोला तथा रथयात्रा निकालिनेछ भने त्यसको पूर्व सन्ध्यामा मंसिर २० गते मटकोर तथा हवन यज्ञ , पुजा र कुमरन कार्यक्रम गर्ने संस्थाका उपाध्यक्ष पुष्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।
स्थानीयहरूको उत्साहजनक सहभागितामा विवाह पञ्चमीको अवसरमा रथयात्रा निकालिने र खाना खुवाउने तयारी भएको सिग्देलले जानकारी दिनुभयो । रथ यात्रा इनरुवा ४ को रामजानकी मन्दिरबाट राम र सीतालाई विशेष सुसज्जित डोलामा राखी बस चौक, महेन्द्र चौक, जिल्ला सरकारी वकिल कार्यालय, इनरुवा ३ , सोमबारे मोड चौक, शान्ति चौक, लौकतान्त्रिक चौक इनरुवा १, जिल्ला समन्वय समिति, इनरुवा २ कुसुम गाछी सहित, शिक्षा विकास तथा समन्वय इकाई हुँदै इनरुवा ९ भगवती मन्दिर बबिया हुँदै इनरुवा २ को लक्ष्मीनारायण मन्दिरको बाटो हुदै पुनः रामजानकी मन्दिरमा पुर्याउदै रथयात्रा सकिने तयारी गरेको सिग्देलले जानकारी दिनुभयो ।
![](https://jajnews.com/wp-content/uploads/2024/11/IMG_20241129_143146-834x1024.jpg)
त्यसैगरी सोही अवसरमा दुई दिने अष्ट्याम रामधुन कार्यक्रम समेत गर्ने गुठी संस्थाका अध्यक्ष हरिलाल मेहताले जानकारी दिनुभएको छ । अध्यक्ष मेहताले त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा रामसीताको पूजाआराधना गरी यो पर्व मनाइने भएकाले इनरुवामा भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रथारोहण सहित रथयात्रा निकालिने जानकारी दिनुभएको छ ।
रथयात्रामा सहभागि हुने पुरुषहरुलाई धोती कुर्ता वा दौरा सुरुवाल, कुर्ता तथा महिलाहरुलाई सारी चोलोको मौलिक पहिरणमा आउन अपिल समेत गरिएको उहाँले जानकारी दिनुभयो । विवाह पञ्चमी तथा रामसिता रथ यात्रामा इनरुवा नगरपालिकाले नगर क्षेत्रमा सार्वजनिक बिदा दिने भएको छ । रथयात्रामा कक्षा ८ माथिका उच्च शिक्षा पढ्ने विधार्थीहरुलाई समेत सहभागी गराउने गुठीका अध्यक्ष हरिलाल मेहताले जानकारी दिनुभएको छ ।
![](https://jajnews.com/wp-content/uploads/2024/11/IMG_20241129_143842.jpg)