जयकृष्ण यादव । इनरुवा
इनरुवा , मंसिर १९ गते । जिल्ला प्रशासन कार्यालय सुनसरीले गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाको पत्र मार्फत प्राप्त सचिवस्तर निर्णय बैठकमा पेश भई छलफल गरेको छ । प्रशासनले सबै सरोकारवाला निकायले प्राप्त निर्देशनको प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउने निर्णय गरेको छ।
जाडो र सितलहरको पूर्व तयारीमा जुट्ने सुनसरीमा जाडो र सितलहरको पूर्व तयारीमा स्थानीय तहहरु जुट्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहका प्रमुखहरुले जाडो र सितलहरको पूर्व तयारीमा जुट्ने प्रतिवद्धता जनाएका छन् । जाडोका कारणले जनजिवन प्रभावित हुन सक्ने भएकाले त्यसको पूर्व तयारी स्वरुप स्थानीय तहहरुले बाक्लो कपडा, कम्बल, सिरक जाडोको मौसम तथा सम्भावित शित लहरको प्रकोपवाट सर्वसाधारणलाई जोगाउन सबै स्थानीय तह र सम्बन्धित कार्यालयहरु तयारी अवस्थामा रहने, स्थानीय तहले न्यानो कपडा, आगो बाल्न दाउरा, जाडोमा उपयोग हुने सामाग्रीहरु तयारी अवस्थामा राख्ने र आवश्यक औषधिको व्यवस्था समेत सबै स्थानीय तहले मिलाउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय, सुनसरी समेतले शीतलहर प्रभावितलाई आवश्यक पर्ने न्यानो कपडा आवश्यक मात्रामा मौज्दात राख्ने भएको छ ।

बैठकले शीतलहरको समयमा अत्याधिक चिसोका कारण रुघा, खोकी, पखाला, निमोनियाजस्ता रोगहरुवाट ग्रसित हुन सक्ने सम्भावना भएकाले जिल्ला अस्पताल लगायत स्थानीय स्वास्थ्य चौकीहरुमा नेपाल सरकारले निःशुल्क वितरण गर्ने, सम्बन्धित औषधी तथा उपकरणको पर्याप्त मौज्दात सबै स्थानीय तहले राख्ने र आ-आफ्नो स्थानीय तहका ऐम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। प्रशासनले शीतलहरबाट सुरक्षित रहनका लागि सचेतना मूलक सूचना एवं जानकारी स्थानीय संचार माध्यम मार्फत प्रसारण गर्ने व्यवस्था पालिकाहरुले मिलाउने निर्णय गरेको छ। चिसोवाट प्रभावित सर्वसाधारणलाई उपलब्ध गराउन स्थानीय तहको माग अनुसार जिल्ला प्रशासन कार्यालयको सिफारिशमा डिभिजन बन कार्यालयले सहुलियत दरमा आवश्यक दाउरा उपलब्ध गराउने ,चिसो मौसमको समयमा गाउँ घरतिर आगो बाली घुर ताप्ने चलन रहेकोले उक्त घुरबाट आगलागी हुन सक्ने सम्भावनालाई मध्यनजर गरी सचेत हुँदै त्यस्ता घटनाहरूको लगत राखी सम्बन्धित निकायमा विवरण पठाउने, साथै राहत वितरणको कार्य बैंक मार्फत गरी सो को तथ्याङ्क स्थानीय तहहरुले अभिलेख राख्ने
निर्णय गरेको छ। जिल्लामा सिटी सफारीको अव्यवस्थित संचालन तथा अन्य सवारी साधनको अव्यवस्थित पार्किङका कारण सडक दुर्घटनाका घटना बढ्दै गएको हुँदा सबै पालिकाहरुले ट्राफिक प्रहरीसँग समन्वय गरी सिटी सफारीको व्यवस्थित संचालन, रुट व्यवस्थापन, पार्किङ व्यवस्थापन गरी सडक दुर्घटना जोखिम न्यूनिकरण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो । आज बुधवारका दिन सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समिति तथा लागु औषध नियन्त्रण सम्बन्धि तीन महिने अभियान कार्यक्रम संचालनका लागि बैठक सम्पन्न भएको हो ।
बैठकमा प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना , हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी, दुहबीका नगर प्रमुख वेदनारायण गच्छदार, इनरुवाका प्रमुख केदार भण्डारी, गढीका उपाध्यक्ष अनिता कुमारी साह, बर्जुका उपाध्यक्ष नितु कुमारी चाैधरी सहितको उपस्थिति रहेको थियो ।