जुगेश दास । सुनसरी (संकलन )

काठमाडौंको व्यस्त रात्रिकालीन क्षेत्र ठमेलमा ट्राफिक व्यवस्थापनका नाममा ट्राफिक प्रहरीको व्यवहारले ईन्ड्राईभ चालकहरूलाई ठूलो पीडा दिएको गुनासो आम हुन थालेको छ। विशेषतः ट्राफिक हवलदार संजय कुमार यादवद्वारा गरिएको गतिविधिले ईन्ड्राईभ चालकहरूको मनोबल खस्काएको बताइन्छ।

रात्रिकालीन समयमा ठमेल क्षेत्रबाट आवतजावत गर्ने चालकहरूलाई वन-वे नियमबारे जानकारी गराउन उचित साइनबोर्डको अभावले समस्या निम्त्याएको छ। यस्तो अवस्थामा सवारी चालकहरू अनजानीमा नियम उल्लंघन गर्न बाध्य हुन्छन्। तर, नियम उल्लंघनकै नाममा रातभरको मेहनतबाट भएको थोरै आम्दानी ट्राफिक प्रहरीले जरिवानाको रूपमा असुल्नुले गम्भीर प्रश्न खडा गरेको छ।

ईन्ड्राईभ चालकहरूको प्रमुख गुनासो भनेको ट्राफिक प्रहरीद्वारा भएको अन्यायपूर्ण व्यवहार हो। उनीहरूले यात्रुहरूलाई सहजरूपमा सेवा दिन खोज्दा विभिन्न वहानामा चिट काट्ने, अनावश्यक दुःख दिने, र कहिलेकाहीँ घुस माग्ने जस्ता आरोप लागेका छन्।

यस्तो स्थितिले काठमाडौंमा ईन्ड्राईभ जस्ता व्यवसायिक प्लेटफर्महरूमा संलग्न युवाहरूको मनोबलमा नकारात्मक असर पारेको छ। यात्रुहरूलाई समयमै सेवा दिन नसक्दा र राइड रद्द गर्नुपर्दा चालकहरूलाई आर्थिक घाटा मात्र होइन, मानसिक तनावसमेत व्यहोर्नु परेको छ।

ट्राफिक प्रहरीको जिम्मेवारी भनेको सडकमा ट्राफिक व्यवस्थापन गर्नु हो, तर यस प्रकारका आरोपले उनीहरूको विश्वासनीयतामाथि गम्भीर असर पारेको छ। यदि घुसखोरीजस्तो गम्भीर आरोप सत्य हो भने सम्बन्धित निकायले तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्छ।

त्यसैगरी, ट्राफिक व्यवस्थापनका लागि स्पष्ट साइनबोर्ड, चालकहरूलाई समयमै जानकारी दिने प्रणाली, र जिम्मेवार तथा पारदर्शी ट्राफिक सेवा सुनिश्चित गर्नुपर्छ।
ईन्ड्राईभ चालकहरू काठमाडौंको यातायात व्यवस्थाको महत्त्वपूर्ण हिस्सा हुन्। उनीहरूको मनोबल उच्च राख्न र सुरक्षित तथा न्यायपूर्ण वातावरण उपलब्ध गराउन राज्य, प्रशासन, र ट्राफिक प्रहरी जिम्मेवार बन्नु आवश्यक छ।

समस्या समाधानतर्फ ध्यान नदिइने हो भने यस्ता घटनाले राजधानीको ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या निम्त्याउने निश्चित छ। अहिलेको आवश्यकता भनेको ट्राफिक प्रहरी र चालकहरूबीच विश्वास पुनर्स्थापना गर्ने हो।