जयकृष्ण यादव । इनरुवा

इनरुवा, माघ १५ गते । सुनसरीको भोकाहा नरसिंह गाउँपालिका गाउँ कार्यपालिकाको १७ औं हिउँदे अधिवेशन औपचारिक रुपमा सुरु भएको छ । गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँवको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्यतामा १७ औं हिउँदे अधिवेशन गाउँ सभा उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा भोकाहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले चालू आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । गाउँ सभा एवं अधिवेशनमा गाउँसभा सदस्य, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी र सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो ।


अधिवेशनको उद्घाटन समारोहमा गाउँपालिकाको नाम उच्च बनाउने र अन्तर्राष्ट्रिय खेलमा समेत नेपाली टिमको कोचको भुमिकामा रहनुभएका अन्तर्राष्ट्रिय खो–खो कोच कपिलदेव यादवलाई नगद सहित सम्मान गरेको जनाएको छ । त्यसैगरी पालिकामा सेवानिवृत्त कर्मचारी , अन्तर र शिक्षकहरूलाई समेत सम्मान गर्दै बिदाइ गरिएको छ । सेवा निवृत्त भएकाहरूको समर्पण र योगदानको कदर गर्दै उहाँहरूको सेवा र कार्यकालको महत्वपूर्ण पक्षहरूको प्रशंसा गर्दै बिदाइ गरिएको हो । गाउँसभा सञ्चालनको क्रममा विभिन्न विषयमा छलफल र निर्णय प्रक्रिया अघि बढाइएको छ । अधिवेशनको प्रारम्भिक सत्रमा प्रमुख योजनाहरू, आगामी वर्षको बजेट, विकासका कार्यहरू, जनताको समस्याहरू र आवश्यक सुधारहरूको बारेमा विचारविमर्श गरिएको छ । यस अधिवेशनमा प्रत्येक क्षेत्रका प्रतिनिधिहरूले गाउँपालिकाको समग्र प्रगति र चुनौतीहरूको बारेमा छलफल गर्ने अवसर पाएका छन् ।
अधिवेशनको आगामी कार्यसूचीमा गाउँपालिकाको समग्र विकासका योजना र रणनीतिहरूमा छलफल गरिनेछ। विशेष गरी शिक्षा, स्वास्थ्य र संरचनात्मक विकासका परियोजनाहरूलाई प्राथमिकता दिने कुरा चर्चा गरिने अपेक्षा छ । यसैगरी, आगामी महिनामा लागू गर्नुपर्ने विभिन्न सरकारी योजनाहरू र स्थानीय स्तरमा विशेष ध्यान दिनुपर्ने विषयहरूमा पनि विचार गरिनेछ।गाउँसभामा विशेष ध्यान दिने विषय भनेको गाउँको सामाजिक र आर्थिक समृद्धि, नारी सशक्तिकरण, शैक्षिक सुधार र बेरोजगारीको दर घटाउने विषय पनि रहनेछ । यसका साथै, युवा र बालबालिकाहरूको भविष्य सुनिश्चित गर्नका लागि नयाँ नीतिहरू र कार्यक्रमहरू ल्याउने योजना पनि रहेको छ ।