जयकृष्ण यादव । इनरुवा
साउन २५ गते । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका ७ को मतगणनामा धादली भएको भन्दै मत गणना विवाद उच्च अदालत पुगेको छ । निर्वाचन आयोगले खटाएको निर्वाचन अधिकृतले सार्वजनिक गरेको मतपरिणाम र मतगणना फारमको मत संख्यामा फरक परेकाले हरिनगर गाउँपालिका ७ नम्बर वडामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार अकरम अलीले पुनःमतगणनाको माग गर्दै उच्च अदालत विराटनगरमा रिट दर्ता गर्नुभएको छ ।
उच्च अदालत विराटनगरका न्यायधिश दोय राजन प्रसाद भट्टराई र मुरारीबाबु श्रेष्ठको आदेश अनुसार अलीको मतगणना कार्य तथा निर्वाचन परिणाम बदर गरि दोहोर्याई मगतणना गरि पाउँ मुद्धामा वडा अध्यक्ष पदको मतगणना परिणाम र मतगणना फारमको सक्कलै फारम जिल्ला निर्वाचन कार्यालय सुनसरीबाट झिकाई नियमानुसार पेश गर्न आदेश गर्नुभएको छ ।
साउन २४ गते न्यायधिश दोय भट्टराई र श्रेष्ठको इजलासले मतपरिणम र मतगणा फारम झिकाउने आदेश गरेको बताइएको छ । यता हरिनगर गाउँपालिका निर्वाचन अधिकृत मोहन प्रसाद घिमिरेले अदालतले यस बारेमा छिनोपाने गर्ने प्रतिकृया दिनुभयो । गत ३० वैशाखमा मतदान सकिएपछि मतगणनामा धाँधली भएको भन्दै एमालेले विरोध जनाएपछि मतगणना पुनः गर्न अलीले रिट दर्ता गर्नुभएको थियो ।