सरकारले थालेको राष्ट्रिय खोप अभियान अन्तर्गत पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभि खोप सुनसरीकाे इनरुवामा पनि लगाउन सुरु गरिएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुनसरीकाे समन्वयमा इनरुवा नगरपालिकाले बालिका तथा किशोरीलाई खोप लगाउन सुरु गरेको हो । इनरुवाको सरस्वती माध्यमिक विधालय तथा केही स्कुलबाट एक कार्यक्रम गरी खोप लगाउन थालिएको छ ।

खाेप अभियानकाे सामुदायिक विधालय व्यवस्थापन समिति महासंघ इनरुवा अध्यक्ष जयकृष्ण यादव र इनरुवा ९ का वडा अध्यक्ष बसिरमुद्धिन मंसुरी सहितले अनुगमन गर्नुभयो । साेमबार बबियाकाे सरस्वती माविमा खाेप लगाउने लाभग्राही बालिका र खाेपमा खटिएको स्वास्थ्यकर्मी र सराेकारबालाहरुसंग प्रतिक्रिया लिदै अनुगमन गर्नुभयो ।


उता जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख राजन मेहताले खोप कार्यक्रमको घोषणा गर्नुभएकाे थियो । बबियाका स्थानीयले खोप राम्रो प्रभावकारी हुने बताएका छन् । खाेप लगाएपछि किशोरीहरुले खुसी व्यक्त गरेका छन् । खोप लगाएर फर्किएकी कक्षा ८ मा अध्ययनरत छात्राहरुले पाठेघरको मुखको क्यान्सरबाट जोगाउने खोप लगाउन पाएकामा खुसी व्यक्त गरेका छन्  । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सुनसरीमा ४८ हजार ४०० जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) लगाइदै छ ।

यता इनरुवा नगरपालिकाका स्वास्थ्य शाखाका सन्तोष देवले विद्यालयमा अध्ययन गरिरहेका ६ कक्षादेखि १० कक्षामा अध्ययनरत किशोरी र विद्यालयबाहिरका १० वर्षदेखि १४ वर्षका किशोरीलाई खोप लगाउन सुरु गरेको बताउनुभयो । सुनसरीको इनरुवा  नगरपालिका, हरिनगर गाउँपालिका, काेशी गाउँपालिका, भाेक्राहानर्सिह गाउँपालिका, गढी गाउँपालिकामा खोप सुरु गरिएको छ भने  फागुन २ गतेसम्म खोप लगाइने छ । खोप अभियान सफल पार्नका लागि इनरुवामा ५२ वटा खोप केन्द्र र  सय जना स्वास्थ्यकर्मी र स्वयंसेवक  परिचालन भएका छन् ।