अनिल श्रेष्ठ । इनरुवा
इनरुवा, फागुन २ गते । सुनसरीको इनरुवा नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका औषधि पसलहरुको अनुगमन गरिएको छ । इनरुवा नगरपालिकाको उपप्रमुख विनिता मेहताको नेतृत्वमा जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता मञ्च र औषधि व्यवसायी संघका प्रतिनिधिहरुले औषधि पसलको अनुगमन गरिएको हो ।


नगरको वडाक्षेत्रमा रहेको औषधी पसलमा म्याद सकिएको भएपनि विक्रि गरेको र बढी मुल्य लिएको गुनासो आएकाले इनरुवा नगरपालिका ७ नम्बर वडाको चान्दबेला क्षेत्रमा औषधि पसलहरुको अनुगमन गरिएको उपप्रमुख मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ रहेका चार एलोपेथिक र एक आयुर्वेदिक गरी पाँच औषधि पसलमा अनुगमन गरिएको हो ।


केही क्लिनिक अनुमति बिना सञ्चालन गरेको अनुगमनको क्रममा पाइएको छ । केहीले एलोपेथिकको अनुमति लिएर आयुर्वेदिक र पशुको समेत औषधी बेच्ने गरेको पाइएको मेहताले जानकारी दनुभयो ।


त्यस्तै, औषधि बेच्नको लागि इजाजत लिएको व्यक्ति नभई अन्य व्यक्तिले औषधि विक्री वितरण गरेको पाइएको छ । अनुगमनका क्रममा केही म्याद नाघेको औषधि पनि देखिएको उहाँले बताउनुभयो ।
अनुगमनको क्रममा औषधि पसलहरुमा देखिएको कमी–कमजोरीलाई तत्काल सुधार गर्न निर्देशन दिइएको उपप्रमुख मेहताले बताउनुभयो । औषधि पसल मापदण्ड अनुसार सञ्चालन गर्न सबै औषधि व्यवसायीहरुलाई निर्देशन समेत दिएको सवस्थ्य शाखाका निखिल पोखरेलले जानकारी दिनुभयो ।


अनुगमनमा सहभागी उपभोक्ता मञ्च नेपाल ईनरुवा नगर कमिटि अध्यक्ष शंकरनाथ महाजुले अनुगमनका क्रममा केही पसल टोली देखेर बन्द गरेर निस्केको, केहीमा मापदण्ड पुरा नगरेको र केहीले म्याद नाघेको औषधि विक्रि गरेको पाइएको बताउनुभयो ।

सोही टोलीले इनरुवा १० जल्पापुर र इनरुवा ९ बबियामा समेतको अनुगमन गरेको छ । सो अनुगमनका क्रममा केही सबैलाई एक पटकलाई सुधारका लागि सचेत गरेको जनाएको छ ।