कोशीमा तीज तथा जितियाको अवसरमा सामुहिक दर खाने कार्यक्रम सम्पन्न

जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ ६ गते । सुनसरीको कोशी गाउँपालिकामा नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा सामूहिक दर खाने कार्यक्रम सम्पन्न भएको छ । कोशी गाउँपालिका ३ मा तिज तथा जितिया पर्वको उपलक्ष्यमा सामूहिक दर खाने कार्यक्रम सम्पन्न भएको हो । कोशी गाउँपालिकाको आयोजनामा सामुदायिक दर खाने कार्यक्रम आयोजना गरेको उपाध्यक्ष अनिताकुमारी यादवले जानकारी दिनुभयो ।
कोशीका अध्यक्ष ऐयुव अंसारीले महिलाहरुको महान पर्व तीज तथा जितियाको शुभकामना दिनुहुदै सामाजिक र सांस्कृतिक पर्वको रुपमा मनाउन आग्रह गर्नुभयो । उहाँले महिलाहरुलाई प्रोत्साहन गर्न र मौलिक पर्वको संरक्षण तथा नयाँ पुस्तामा जानकारी दिनका लागि भव्य र सभ्य तरिकाले तीज मनाउन सामुहिक दर खाने कार्यक्रम गरेको बताउनुभयो । कार्यक्रममा फरक प्रसंगमा बोल्दै अध्यक्ष अंसारीले आफू सबैको हित, धार्मिक आस्थाको सम्मान गर्ने व्यक्ति भएको बताउनुहुदै छोरासँगै छोरीलाई पनि शिक्षा दिए मात्र समाज र राष्ट्रको विकास हुदै महिला सशक्तिकरणमा पुर्णरुपमा सहयोग पुग्ने बताउनुभयो ।
कोशी ५ का वडा अध्यक्ष साह जमालले सामूहिक दर खाने कार्यक्रमले हरेक नारीको सम्मान र आस्थालाई संरक्षण गरेको बताउनुभयो । उहाँले हरेक क्षेत्रको विकासको तुलनामा पुरुषभन्दा महिलाको पनि भुमिका कम नभएकोमा जोड दिनुभयो ।
कार्यक्रममा प्रथम महिला नगमा शाहिल, स्थानीय मनोजकुमार साह, वडा अध्यक्ष ध्यानी उराँव, सुलेमान मंसुरी, कार्यपालिका सदस्य , वडा सदस्यहरु , कर्मचारी तथा कोशीबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन अधिकारकर्मी कविता मण्डलले गर्नुभएको थियो ।