सतैरझोरामा अस्थायी प्रहरी पोष्ट स्थापना
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज ३० गते । सुनसरीको विकासमा फड्को मार्दै गरेको गढी गाउँपालिका ६ सतैरझोरामा शान्ती सुरक्षा र अमनचयनका लागि अस्थायी प्रहरी पोष्ट उद्घाटन गरिएको छ । प्रहरी पोष्टको विहीबार गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी, प्रहरी उपरीक्षक केशवकुमार थेवे र गढी ६ का वडाध्यक्ष तेतर साह भएर संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
सतैरझोरास्थित वडा कार्यालयको पश्चिम सामुदायिक भवनमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको वडा अध्यक्ष तेतर साहले जानकारी दिनुभयो । अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षक (असइ) को नेतृत्वमा सात जना प्रहरी रहने प्रहरी उपरीक्षक थेवेले जानकारी दिनुभयो । जिल्लाको मध्यक्षिणसँग सीमा जोडिएको स्थानीयले लामो समयदेखि प्रहरी चौकीको माग गर्दै आएका थिए । साबिकको सिङ्गो सतैरझोरा गाविसमा टाढा रहेको छिटाहा प्रहरी चौकीबाट शान्ति, सुरक्षा प्रदान हुँदै आएको थियो । अब भने गाउँमै अस्थायी प्रहरी पोष्ट स्थापना भएपछि स्थानीय खुसी भएका जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवशंकर यादवले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक थेवेले सतैरझोरामा भौगोलिक रुपमा अत्यन्त ठूलो भूभाग पर्ने र त्यहाँका बुढी र गडन खोला, खोल्सा हुँँदै गाउँमा लागूऔषध सेवान तथा ओसारपसार हुने गरेको गुनासो, शान्ती सुरक्षामा चुनौती र स्थानीयको माग सम्बोधन तथा पूर्व अतिरिक्त महानिरीक्षक कृष्णहरि पोखरेल सहितको आग्रह र पहल भएपछि प्रहरी पोष्ट स्थापना गरिएको बताउनुभएको छ ।
वडाध्यक्ष साहले प्रहरी पोष्ट स्थापना भएसँगै स्थानीयवासी, कार्यालय, विद्यालय र वित्तीय सङ्घसंस्थाले शान्ति, सुरक्षाको महशुस गर्ने भएको बताउनुभयो । उहाँले वर्षौको प्रतिक्षापछि वडामा प्रहरी पोष्ट स्थापना भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
गढीका अध्यक्ष आशनारायण चौधरीले गाउँको विकट क्षेत्रमा पर्ने वडामा प्रहरी चौकी स्थापना गर्न पहल गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको छ । अस्थायी प्रहरी पोष्ट उद्घाटन कार्यक्रममा उपाध्यक्ष अनिताकुमारी साह, पूर्व उपाध्यक्ष राजकुमारी चौधरी, गढी ५ का वडा अध्यक्ष चन्द्रकुमार सरदार, इनरुवा उधोग बाणिज्य संघका अध्यक्ष वीरेन्द्रकुमार साह लगायतको आतिथ्यता रहेको थियो ।



१, सुनसरीको गढी गाउँपालिका ६ सतैरझोरामा शान्ती सुरक्षा र अमनचयनका लागि अस्थायी प्रहरी पोष्ट उद्घाटन गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
