भोक्राहा नरसिंहमा दुईदेशीय कुस्तीको तयारी
इनरुवा,कार्तिक १ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ स्थित काली मन्दिरमा तिहारको अवसरमा तीन दिने तथा दुईदेशीय कुस्तीको तयारी भएको छ । यादव समुदायको बाहुल्य रहेको र तिहारमा रमाईलोसगैं खेलकुद गर्दै आईएकोमा विगतको वर्ष झै यसवर्ष पनि दुईदेशीय कुस्तीको तयारी भएको हो । काली थान परिसरमा यसवर्ष पनि भव्य धार्मिक तथा सांस्कृतिक मेलासगैं दुईदेशीय कुस्तीको तयारी गरेको आयोजक कालि मन्दिर मेला समितिका अध्यक्ष सचेन्द्र यादवले जानकारी दिनुभयो । यादवका अनुसार मौलिक खेलकुद लोपोन्मुख अवस्थामा पुगेको र त्यसमा कुस्ती संकटमै परेकाले प्रतियोगिता र मनोरञ्जन दुवै हुने भएकाले दुईदेशीय कुस्तीको तयारी गरेको हो । मेलाको विशेष आकर्षणका रूपमा नेपाल र भारतीय कुस्ती दंगल (मल्लयुद्ध प्रतियोगिता) आयोजना गरिएको जनाएको छ ।

यसमा नेपालका विभिन्न जिल्लाका नाम चलेका खलिफा(पहलवान)सँगै भारतको दिल्ली, पंजाब, हरियाणा र लुधियानाबाट समेत प्रसिद्ध पहलमानहरूको सहभागिता रहने जनाएको छ । भारत र नेपालका पहलवानहरूबीच हुने प्रतियोगितामा ३० जोडी खेलका लागि ६० कुस्ती खेलाडी सहभागी हुने दर्शकलाई निशुल्क रुपमा प्रत्यक्ष आवलोक गर्न दिने भएको छ । कुस्ती प्रतिस्पर्धा हेर्न हजारौं दर्शक आउने आयोजकले अपेक्षा गरेको छ । मेला आयोजना समितिका प्रमुख रामेश्वर मर्वैताले मेला संयोजक सचेन्द्र यादवको संयोजकत्वमा २५ सदस्य समिति बनाएको मेलाले स्थानीय तथा आसपासका जिल्लाबाट ठूलो संख्यामा श्रद्धालु र दर्शकहरू आउने भएकाले व्यवस्थापनका लागि स्थानीय सहित सुरक्षा निकायसंग समेत समन्वय गरेको छ । धार्मिक तथा सांस्कृतिक कार्यक्रम, झाँकी, स्टल तथा मेला मनोरञ्जनका विभिन्न साधनहरू रहेकाले धार्मिक दर्शक र आन्तरीक पर्यटक समेत आउने अपेक्षा गरिएको छ । मेला समितिका अनुसार मेलाले धार्मिक आस्था मात्र नभई, भाईचाराको सन्देश र सांस्कृतिक एकताको प्रतिकका रूपमा कार्य गर्ने र कुस्तीको छुट्टै आकर्षक रहेको छ । समितिले सबै कुस्ती, दंगल प्रेमी तथा दर्शकलाई मेलामा सहभागी हुन आग्रह गरेको छ ।
