इनरुवा, जेठ २३ गते । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा माटो शिविर तथा बाली उपचार कार्यक्रम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र सुनसरीको आयोजना र देवानगञ्ज गाउँपालिका कृषि शाखाको समन्वयमा शिविर सम्पन्न भएको हो । स्थानीय किसानहरूलाई आफ्नो खेतको माटोको अवस्था बुझ्न र बालीनालीमा लाग्ने रोगकिराको पहिचान गरी नियन्त्रणका उपायहरू बताउने तथा परामर्श सहित माटो स्वस्थ्य बनाउन सिकाउने उद्देश्यले शिविर आयोजना गरिएको ज्ञान केन्द्र प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो । शिविरमा स्थानीय किसानहरूले आफ्नो खेतबाट संकलन गरेर ल्याएको माटोका नमूनारूको निःशुल्क परीक्षण गरिएको थियो । माटोमा रहेको अम्लीयपन, क्षारियपन र मुख्य पोषक तत्वहरूको अवस्था जाँच गरी विशेषज्ञहरूले सुधारका लागि उपयुक्त सुझाव र सिफारिस समेत दिएका सिंहले बताउनुभयो । यसैगरी, बाली उपचार शिविर अन्तर्गत किसानहरूले रोग र किराले सताएका विभिन्न बालीनालीका नमूनाहरू प्राविधिक टोलीलाई देखाएर तत्कालै समाधानका उपाय र परामर्श प्राप्त गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि एवं देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले गाउँपालिकाको मुख्य आधार नै कृषि भएकाले किसानको समस्या समाधान गर्न स्थानीय सरकार सधैं तत्पर रहने बताउनुभयो । मेहताले भन्नुभयो,“हाम्रो देवानगञ्जका अधिकांश नागरिक कृषिमै निर्भर हुनुहुन्छ । परम्परागत खेती प्रणालीले मात्र अब किसानको आर्थिक अवस्था सुध्रिन सक्दैन । माटोको स्वास्थ्य अवस्था नबुझी जथाभावी मल प्रयोग गर्दा एकातिर लगानी खेर गइरहेको छ भने अर्कोतिर माटोको उर्वराशक्ति बिग्रिँदै गएको छ । त्यसैले यो शिविरले किसानहरूलाई आफ्नो माटो र बालीको समस्या बुझ्न ठूलो मद्दत पु¥याएको छ । आगामी दिनमा गाउँपालिकाका सबै वडाका किसानको पहुँच पुग्ने गरी यस्ता प्राविधिक शिविरहरूलाई थप विस्तार गर्दै लैजानेछौँ ।”शिविरमा सहभागी स्थानीय किसानहरूले पनि गाउँघरमै विशेषज्ञ टोली आएर माटो परीक्षण र बालीको उपचार विधि सिकाइदिएकोमा खुसी व्यक्त गरेका थिए । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रतिनिधि, गाउँपालिकाका जनप्रतिनिधि, कृषि शाखाका कर्मचारी र स्थानीय किसानहरूको उपस्थिति रहेको थियो ।


१, कृषि ज्ञान केन्द्र सुनसरीको आयोजना र देवानगञ्ज गाउँपालिका कृषि शाखाको समन्वयमा भएको बाली शिविर ।