४४ औ बिपि स्मृति दिवसमा नेपाली काङ्ग्रेसले गरे विभिन्न कार्यक्रम
महामानव वीपी कोइराला प्रति श्रद्धासुमन अपर्ण गर्दै नेपाली काग्रेंस र भातृ संस्थाहरुले विभिन्न कार्यक्रम गरेको छ । नेपाल तरुण दल रामधुनीको आयोजना र रामधुनी कांग्रेसको संयोजनमा ४४ औं वीपी स्मृति दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कुनै पनि नागरिकलाई रगतकै अभावमा ज्यान गुमाउनु नपरोस भनेर रामधुनीमा रक्तदान कार्यक्रम गरेको पार्टीले जनाएको छ । त्यसैगरी ४४ औ बिपि स्मृति दिवसमा नेपाली काङ्ग्रेस दुहवीले वृक्षारोपण कार्यक्रम गरेको छ ।

पार्टी नगरसमितिद्वारा वृक्षारोपण कार्यक्रम भब्यताका साथ सम्पन्न गरिएको पार्टी नगर सभापती बेदनारायाण गच्छदारले जानकारी दिनुभयो ।

यता नेपाली काँग्रेस सुनसरीको आयोजनामा बुधबार नै जिल्ला सदरमुकाम इनरुवाको नेपाल निर्माण व्यवसायी संघमा ४४ औं वीपी स्मृती दिवस तथा जरा अभियानको समापन कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टी जिल्ला सभापती केदार भण्डारीको अध्यक्षता र नेतृ डिला संग्रोंलाको प्रमुख आथित्यता तथा केन्द्रिय सदस्य राजिव कोईरालाको विषेश आतिथ्यतामा आफ्नो पार्टी सङ्गठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ समापन गरेको छ । पार्टीका जिल्ला सचिव माधव बहादुर घिसिङका अनुसार
नेपाली कांग्रेसले केन्द्रीय कार्यालयबाट जारी गरेको सूचना अनुसार नै जरा अभियान समापन गर्ने क्रममा सुनसरीमा पनि कार्यक्रम गरेर समापन गरेको जानकारी गराउनुभयो । जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४४ औँ स्मृति दिवसको अवसर पारेर जिल्ला कार्यसमितिहरूको आयोजनामा व्यापक सहभागितासहित ‘जरा अभियान’ को औपचारिक समापन कार्यक्रम गरे उल्लेख गर्नुभयो । सुनसरीको जरा अभियानको समापन कार्यक्रममा पार्टीका इनरुवा सभापती राजन मेहता, क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापती ऐयुव अंसारी सहित केन्द्रिय, प्रदेश र जिल्ला तथा स्थानीय नेताहरुको उख्लेखिय मात्रामा उपस्थिती रहेको थियो ।

पार्टी सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिकका लागि देशभरि जरा अभियान बैशाख १ गते सुरुवात गरेका थिए । सभापति थापाले बैशाख १ गते काठमाडौं महानगरपालिका–३० को वडा इकाई कार्यालयमा उपस्थित भएर क्रियाशील सदस्यता अध्यावधिक गरेसँगै अभियानको सुरु भएको थियो । अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको थियो । त्यो जरा अभियान मार्फत कांग्रेसले डिजिटल ‘कांग्रेस आईडी’ अनिवार्य गर्ने, क्रियाशील सदस्यता वडामै अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने बताएको थियो । त्यो विषयमा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले विरोध गरिरहेका छन् । पुराना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिकका लागि फारम भर्नुपर्ने, फोटो खिच्नु पर्ने प्रावधान लागु गरेकोमा इतर समूहले विरोध गरेको थियो । सबै क्रियाशील सदस्यहरूको व्यक्तिक विवरण संकलनका लागि कांग्रेसले सदस्यता अद्यावधिकका क्रममा फारम भर्ने, फोटो खिच्ने अनिवार्य प्रावधान राखेकोमा देउवा र शेखर समूहले विरोध गरेका हुन् । उनीहरूले १५ औँ महाधिवेशनका लागि भन्दै गत पुस मसान्तसम्म नै क्रियाशील सदस्यता नवीकरण भइसकेको भन्दै उनीहरूलाई सदस्यता अध्यावधिक गर्न अनिवार्य गर्न नहुने बताइरहेका छन् । त्यही अडान राख्दै निवर्तमान सभापति देउवा, निवर्तमाका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. शशांक कोइराला, पूर्वसहमहामन्त्रीहरू डा.प्रकाशशरण महत, बद्री पाण्डे, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय डिनासहितका नेता तथा देउवा र डा. शखेर समूहका केन्द्रीय सदस्य, प्रदेश, जिल्ला, क्षेत्र र पालिकाका पदाधिकारी सदस्यता तथा कार्यकर्ताले सदस्यता अध्यावधिक गरेका छैनन् ।
