अनिल श्रेष्ठ । विराटनगर

नेपाल प्रहरीको ७१ औँ प्रहरी दिवस, २०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी कर्मचारी मेनुका राई यादव ‘देवकुमारी–शिवप्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार’ बाट पुरस्कृत हुनुभएको छ। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले उहाँलाई नगद ३५ हजार ५०० रुपैयाँसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरेको हो।
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरबाट २०८३ असोज ३० गते जारी गरिएको प्रशंसापत्रमा प्रहरी कर्मचारी मेनुका राई यादवले समाजमा शान्ति सुव्यवस्था कायम राख्ने चुनौतीपूर्ण परिस्थितिमा समेत अहोरात्र खटिएर उल्लेखनीय कार्य गरेको उल्लेख छ। उहाँले प्रहरी संगठनको छवि उच्च राख्न निर्वाह गर्नुभएको भूमिकाको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको प्रमाणपत्रमा जनाइएको छ।


प्रशंसापत्रमा ‘देवकुमारी–शिवप्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार’ अन्तर्गत नगद ३५ हजार ५०० रुपैयाँसहित सम्मान गरिएको उल्लेख छ।

पुरस्कार तथा प्रशंसापत्रमा देवकुमारी–शिवप्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारका संस्थापक धनञ्जय आचार्य र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालको हस्ताक्षर रहेको छ।


प्रहरी सेवामा रहेर शान्ति सुरक्षा कायम गर्न तथा संगठनको प्रतिष्ठा अभिवृद्धिमा योगदान पुर्‍याएको कदरस्वरूप प्राप्त यस सम्मानले मेनुका राई यादवलाई आगामी दिनमा अझ जिम्मेवार र समर्पित भएर सेवा गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।


यसैबीच, जिल्ला प्रहरी कार्यालय सुनसरीले उहाँलाई पुरस्कार प्राप्त गर्नुभएकोमा बधाई तथा शुभकामना व्यक्त गरेको छ। पत्रकारकर्मी जयकृष्ण यादवले पनि मेनुका राई यादवलाई पुरस्कारबाट सम्मानित हुनुभएकोमा बधाई दिँदै आगामी प्रहरी सेवा सफल, उपलब्धिमूलक र प्रशंसनीय रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।
प्रहरी कर्मचारीको इमानदारी, कर्तव्यनिष्ठा र समर्पणको उचित मूल्याङ्कनले संगठनभित्र सकारात्मक ऊर्जा अभिवृद्धि गर्नुका साथै नागरिकको सुरक्षाप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाउने विश्वास गरिएको छ।