इनरुवामा शुभकामना आदानप्रदान
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज ३० गते । सुनसरी सदरमुकाम इनरुवामा दशै लगायतका विभिन्न चाडपर्वको अवसरमा प्रतिनिधि सभा सदस्य लाल विक्रम थापाको सचिवालयको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सुनसरी जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ का सांसद लाल विक्रम थापाले शुभकामना कार्यक्रममा पर्वको बेला अभाव र असुरक्षाको महसुस नहुने गरी सरकारले काम गरेको बताउनुभयो । उहाँको सचिवालयको आयोजनामा जिल्ला सदरमुकाम इनरुवामा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुुहुदै चाडपर्वले समाजमा सद्भाव, भ्रातृत्व र एकता कायम राख्न मद्दत पु¥याउने बताउँनुहुदै यसबेला अतिआवश्यक सामग्री अभाव र असुरक्षाको महसुस कोही कसैले गर्नुनपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल विधुत प्राधिकरण इनरुवाका प्रमुख उपेन्द्र नारायण यादव, भुमि प्रशासन कार्यालय प्रमुख ओमकार न्यौपाने, जिल्ला अस्पताल इनरुवाका डा. रंजित सिंह मेहता सहितले आ आफ्नो शुभकामना सन्देश सहित नागरिकमैत्री काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले इटहरीदेखी सीमावर्ती देवानगञ्जसम्मका नागरिक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताकार्यकर्ता र सरकारी अधिकारीहरुको बीचमा एकआपसमा शुभकामना व्यक्त गर्नुहुदै नागरिकको हित र सुकुम्बासीसम्मको अनुहारमा खुसी ल्याउने गरी काम भईरहेको बताउभयो । हिन्दू तथा विभिन्न समुदायको महान् पर्वहरू विजया दशमी, दीपावली, नेपाल संवत्, छठ पर्व तथा समाचकेवाको सुखद अवसरमा शुभकामना कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य लाल विक्रम थापा प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो भने कार्यक्रमको अध्यक्षता अग्रज भीम दाहालले गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति सागर दाहाल, जिल्ला सचिव राजाराम मेहता, इनरुवा नगर संयोजक बिनोद कटुवाल, रामधुनी नगर सभापति रेवती रमण दाहाल, क्षेत्र नं. २ का (प्रदेश) सभापति महेन्द्र कुमार श्रेष्ठ, उपसभापति सुदिप फुयाल, देवानगञ्जका सभापती रामसुन्दर मेहता लगायत जिल्ला तथा स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित वक्ताहरू तथा सहभागीहरूले चाडपर्वले समाजमा सद्भाव, भ्रातृत्व र एकता कायम राख्न मद्दत पु¥याउने बताउँदै एकआपसमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको संयोजन तथा स्वागत मन्तव्य पार्टीका नेता योगेन्द्र गिरीले राख्नुभएको थियो । गिरीले सामाजिक एकता, सदभाव र एकताका लागि सन्देश दिन नेपालीहरुको महान् पर्वहरू विजयादशमी, शुभ दीपावली, नेपाल संवत्, छठ पर्व तथा समाचकेवाको सुखद अवसरमा शुभकामना कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले सहभागी सबैलाई स्वागत समेत गर्नुभएको थियो ।


१, सुनसरीको इनरुवामा दशै लगायतका विभिन्न चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रतिनिधि सभा सदस्य लाल विक्रम थापा सहितको अथितिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
