कोशी गाउँपालिकामा ‘समुदाय–प्रहरी साझेदारी’ अन्तर्गत नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज २७ गते । सुनसरीको कोशी गाउँपालिकामा ‘समुदाय–प्रहरी साझेदारी’ अन्तर्गत नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय, इनरुवा, सुनसरीको आयोजनामा शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि भन्ने मूल नाराका साथ समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाइ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिनुभएको छ । प्रहरी उपरीक्षक पुष्पराज मल्लको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । सम्पन्न भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी अधिकारी, विभिन्न विद्यालयका विद्यार्थीहरू, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने भावनालाई आत्मसात गर्दै गाउँमा आयोजना गरिएको नागरिक सुनुवाई कार्यक्रममा समुदाय र प्रहरीबीचको सहकार्य, शान्ति सुरक्षाको अवस्था, सामाजिक विकृति नियन्त्रण तथा नागरिकका सुझाव र गुनासाहरूका विषयमा छलफल गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि प्रहरी र स्थानीय समुदायको हातेमालो आवश्यक रहेको बताउनुभयो।
