अवैध लत्ताकपडा र मोटरसाइकलसहित एक जना पक्राउ
इनरुवा, असोज २७ गते । सुनसरीको देवानगञ्ज गाउँपालिकामा भन्सार छली अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको लत्ताकपडा र मोटरसाइकलसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सुनसरी प्रहरीका अनुसार मङ्गलबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको गस्ती टोलीले देवानगञ्ज गाउँपालिका वडा नं. ६ स्थित हकपाडा भित्री सडक खण्डमा जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एच–०४–८६२ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गरेको थियो । सोही क्रममा भन्सार छली ल्याउँदै गरेको चार लाख दश हजार चार सय रुपियाँ बराबरको अवैध लत्ताकपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अवैध सामान र मोटरसाइकलसहित सोही ठाउँ बस्ने ३० वर्षीय मोहमद सज्जादलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका सज्जाद र बरामद सामानलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान तथा भन्सार बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

१, सुनसरीको देवानगञ्ज गाउँपालिकामा भन्सार छली अवैध रूपमा भित्र्याइएको लत्ताकपडा र मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गर्दै प्रहरी ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
