​जयकृष्ण यादव । इनरुवा 

इनरुवा, असोज २३ गते। काखमा तीन वर्षीय छोरा दिव्यांश र डेढ वर्षीया छोरी प्रियांशीलाई च्यापेर टोलाइरहनुभएकी अन्जु शाहको नजर दिनहुँ घरको मूलढोकामै अडिन्छ। बाहिर कसैको चापचाप सुनिनसाथ उहाँको मन झस्किन्छ— “कि श्रीमान् नै फर्किनुभयो कि त!” तर, ढोकाबाट निराश आँखाहरू मात्र भित्र छिर्छन्। गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीमा परी बेपत्ता हुनुभएका ३५ वर्षीय इन्जिनियर श्याम नारायण शाहको लामो समय बितिसक्दा पनि कुनै अत्तोपत्तो नहुँदा उहाँको परिवार अहिले गहिरो चिन्ता, निराशा र शोकमा डुबेको छ।

​सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ३ निवासी इन्जिनियर शाह भोटेकोशी बाढीमा बेपत्ता भएयता परिवारका सदस्यहरूको निद्रा र भोक हराएको छ। भदौ ९ गते साँझ श्रीमान्‌सँग फोनमा अन्तिम पटक कुराकानी भएको स्मरण गर्दै अन्जु भन्नुहुन्छ, “त्यसयता न सम्पर्क हुन सकेको छ, न मोबाइलमा फोन नै लाग्छ।” लामो समयसम्म पतिको कुनै खबर नपाउँदा विक्षिप्त बन्नुभएकी उहाँ अहिले “सास कि लास” को दर्दनाक पर्खाइमा दिन काट्न बाध्य हुनुहुन्छ।

​शाह बेपत्ता भएलगत्तैदेखि उहाँको खोजीमा परिवार निरन्तर लागिपरेको छ। जेठा दाजु रामनारायण शाह वैदेशिक रोजगारीका क्रममा घरबाहिर रहेकाले भाइ प्रभु नारायण शाह दाजुको सुराक पाउने आशामा निरन्तर दौडधुप गरिरहनुभएको छ। दाजुको स्थिति पत्ता लगाउन उहाँ कहिले काठमाडौंका सरकारी निकाय धाउँछन् त कहिले रसुवाको दुर्घटनास्थल र सुनसरीका स्थानीय प्रशासनका ढोका ढकढक्याउन पुग्छन्। तर, यतिका समय बितिसक्दा पनि कहीँ कतैबाट ठोस खबर नआउँदा सम्पूर्ण परिवार नै थाकिसकेको छ।

​पेसाले इन्जिनियर शाहको अत्तोपत्तो नहुँदा भोक्राहा नरसिंह गाउँपालिकास्थित उहाँको सिङ्गो गाउँ र आफन्तजन समेत स्तब्ध बनेका छन्। घरमा चुलो बाल्न र खाना खान समेत छाडेर पीडामा तडपिरहेको शाह परिवारले खोजी कार्यलाई अझ तीव्र र प्रभावकारी बनाइदिन प्रहरी, स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूसँग पुनः कानुनी र मानवीय अपिल गरेको छ।

१, सुनसरीको भाेक्राहा नर्सिङ गाउँपालिका ३ का भाेटेकाेशी बाढीमा बेपत्ता ई स्याम नारायण साहको पत्नी काखमा तीन वर्षीय छोरा दिव्यांश र डेढ वर्षीया छोरी प्रियांशीलाई च्यापेर टोलाइरहनुभएकी अन्जु शाह घरको मूलढोकामा । 

तस्बिर : जयकृष्ण यादव । इनरुवा