सुत्केरी व्यथाले च्यापेकी महिला तीन घण्टा इनरुवा अस्पतालको सिँढी र प्यासेजमै, अन्यत्र पठाउँदा ऐम्बुलेन्समै शिशुको जन्म

जयकृष्ण यादव । इनरुवा 

​इनरुवा, असाेज २३ गते  । सुनसरी जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले च्यापेर पीडामा छटपटाइरहेकी एक महिलालाई तीन घण्टासम्म अस्पतालको सिँढी तथा प्यासेजमा राखेर स्वास्थ्य परीक्षण एवम् बेड भर्नासमेत नगरी फिर्ता पठाइएको घटना सार्वजनिक भएको छ ।

​सुनसरीको कोशी गाउँपालिका वडा नं. ३ जमुवा निवासी शर्मिला सदा मुसहरलाई सुत्केरी व्यथाले च्यापेपछि उहाँका श्रीमान् देवकुमार सदा र जेठानी फगुनी सदाले सुत्केरी गराउन बुधबार राति जिल्ला अस्पताल सुनसरी, इनरुवा ल्याउनुभएको थियो ।

​देवकुमार सदाका अनुसार इनरुवा ल्याइएकी शर्मिलालाई सुत्केरी व्यथाले च्यापेर छटपटाइरहेको अवस्थामा भुइँतलामा छाडेर उहाँहरू अस्पतालको माथिल्लो तलामा रहेको प्रसूति वार्डमा नर्सिङ स्टाफ र चिकित्सकलाई खबर गर्न पुग्नुभएको थियो ।सदाले भन्नुभयो, “स्वास्थ्य परीक्षण र बेड भर्ना गराउनका लागि आग्रह गर्दा त्यहाँ रहनुभएका चिकित्सक तथा नर्सहरूले पुरानो ल्याब तथा भिडियो एक्स-रे रिपोर्ट हेरेर सुत्केरी महिलाको अवस्था उच्च जोखिमयुक्त भएको बताउनुभयो ।”

​पछि एकजना स्टाफ नर्सले स्वास्थ्य परीक्षण नै नगरी पाठेघरको मुख खुलेको छैन, तत्काल बच्चाको जन्म हुँदैन भन्ने जवाफ दिँदै केही भइहाले अस्पतालले कुनै जिम्मेवारी नलिने र आफ्नै जोखिममा उपचार गराउनुपर्ने बताउनुभएको फगुनी सदाले जानकारी दिनुभयो ।

​अस्पतालको प्रसूति वार्डमा ड्युटीको जिम्मेवारीमा रहनुभएकी डाक्टर सुजाता चौधरीले बिरामी हेर्न नआई फोनबाटै धरान वा विराटनगर लैजानका लागि स्टाफ नर्सलाई आदेश दिनुभएको थियो ।

​डा. सुजाता चौधरीको फोनमार्फत आदेश आएपछि प्रसूति वार्डमै उपस्थित रहनुभएका र पुरानो रिपोर्टसमेत हेर्नुभएका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष साह र डा. कृष्ण दासले बेवास्ता गर्नुभएपछि बिरामी शर्मिलाका श्रीमान् देवकुमार र जेठानीलाई विराटनगरस्थित कोशी अस्पताल लैजानका लागि अस्पतालकै सरकारी एम्बुलेन्समा सुत्केरी पीडाले छटपटाउनुभएकी शर्मिलालाई राति १२ बजेपछिको समयमा राखिएको थियो ।

​फगुनी सदाका अनुसार विराटनगर लैजाने क्रममा शर्मिलालाई थप प्रसूति पीडाले च्यापेपछि शिशुको जन्म एम्बुलेन्सभित्रै भएको थियो । असहज रूपमा एम्बुलेन्समा बस्नुभएकी शर्मिलाको बच्चा कोशी अस्पतालको मूल गेटमा पुग्दा आमाकै शरीरमा टाउको अड्किएको अवस्थामा रहेकाले अस्पतालका स्वास्थ्यकर्मीले टाउको तानेर निकालिदिएका थिए ।

​बच्चाको जन्म भएपछि उहाँहरूले समेत भर्ना नगरी तुरुन्तै आइसियुमा राखेर मात्रै बच्चाको उपचार हुने भन्दै विराट नर्सिङ होम, नोबेल मेडिकल वा सुरक्षा अस्पताल लैजान सुझाव दिनुभयो ।

​उहाँका श्रीमान् देवकुमारले भन्नुभयो, “कोशीका डाक्टरको सुझाव अनुसार बच्चालाई सुरक्षा अस्पताल लगिएको थियो ।”सुरक्षा अस्पतालले दिनको १७ हजार रुपियाँ अग्रीम जम्मा गरेपछि मात्रै बच्चालाई आइसियुमा राख्न सकिने बताएपछि आफूहरू गरिब तथा विपन्न परिवारको मानिस भएको जनाउँदै अस्पतालमा उपचार गराउन नसक्ने अवस्था देखेर जेसुकै होस् भनी बच्चालाई पुनः कोशी अस्पताल नै फिर्ता ल्याएको फगुनी सदाले बताउनुभयो । कोशी अस्पतालमा ल्याएपछि नवजात शिशु रुन थालेपछि डाक्टरले आमाको दूध चुसाउन लगाउनुभएको थियो । आमाको दूध चुसाएपछि नवजात शिशुले दिसा-पिसाब गरेपछि डाक्टरले आइसियुमा राख्नुनपर्ने भन्दै सामान्य बेडमा राखेर स्वास्थ्य परीक्षण गर्नुभएको देवकुमारले बताउनुभयो । बिहान १० बजेको समयमा आमा र बच्चाको स्वास्थ्य ठीक रहेको बताउँदै कोशी अस्पतालले आवश्यक औषधी लेखेर घर लैजान डिस्चार्जको कागजात बनाएपछि घर लिएर आएको उहाँहरूले जनाउनुभएको छ ।

​कोशी अस्पतालले औषधी लेखिदिए तापनि पैसाको अभावमा हालसम्म औषधी किनेर बच्चा र आमालाई खुवाउन नसकिएको देवकुमार बताउनुहुन्छ । सुत्केरी व्यथाले च्यापेर पीडामा छटपटाइरहेकी महिलालाई स्वास्थ्य परीक्षण तथा बेड भर्नासमेत नगरी अन्यत्रै लैजान लगाइएको घटनाका सम्बन्धमा जानकारी माग्दा जिल्ला अस्पताल सुनसरी, इनरुवाका मेसु डा. सन्तोष साहले आफू तीन दिनदेखि अस्पतालमा नरहेको र सुत्केरी महिलाका बारेमा कुनै जानकारी नभएको बताउनुभयो ।मेसु डा. साहले भन्नुभयो, “म तालिममा भाग लिन इटहरी आएकाले घटनाका बारेमा अस्पताल प्रशासन प्रमुख उमेश गौतमसँग बुझेर जानकारी लिनुहोला ।” अस्पतालका स्वास्थ्यकर्मीहरूले भने शर्मिला सदा प्रसूति पीडाले च्यापेको अवस्थामा अस्पताल आउँदा मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष साह स्वयं माथिल्लो तलामा रहेको प्रसूति वार्डमा बिरामीका श्रीमान् र जेठानीसँग कुराकानी गर्नुभएकाले यस विषयमा कार्यालयका कर्मचारीहरूको बैठकबाहेक अहिले कुनै जवाफ सार्वजनिक रूपमा दिन नसकिने बताउनुहुन्छ ।

​अस्पताल सुधार संघर्ष समितिका अभियन्ता दिलीपचन साहले पीडामा रहनुभएकी महिलाको सामान्य जाँच र बेड भर्नासमेत नगरी जोखिमपूर्ण अवस्थामा अन्यत्र पठाउनु चरम लापरवाही र मानवीय संवेदनहीनता भएको बताउनुभयो ।

१

तस्बिरमा प्रसुतिका लागि आएको महिला र आफन्त सुनसरी जिल्ला अस्पतालमा