अजितकुमार झा


सुनसरी, २६ असोज । सुनसरी कोसी गाउँपालिका–३ की २४ बर्षीया शर्मिला सदा र श्रीमान देवकुमार सदा आर्थिक रुपमा निकै कमजोर र शिक्षाको पहुच भन्दा बाहिरका व्यक्ति हुनुहुन्छ । दुबै जना शिक्षाको बिषयमा केही ज्ञान नभएको बताउनुहुन्छ ।
समान्य मजदुरी गरेर दुवै जनाले जिविको पार्जन गर्दै आउनुभएको छ । दैनिक काम काज गरेर जिविको पार्जन गर्दै आउनुभएका सदा परिवार मध्यै शर्मिलालाई २०८२ पुसमा ज्वरो लाग्यो ।
समान्य ज्वरो रुघाखोकी लागेपछि श्रीमान देवकुमारले अस्पताल उपचार गराउनका लागि हिड्न आग्रह गर्नुभयो ।
श्रीमानले गरेको आग्रहमा शर्मिलाले अनकनाउदै पुस महिनमा हुने मासिक महिनावारी नभएको कारणले बजारबाट ५० रुपैयाँ पर्ने प्रिगनेन्सी किट ल्याइ दिनका लागि आग्रह गर्नुभयो । शर्मिलाले भनेको कुरामा श्रीमान देवकुमारले एक÷दुई दिन भित्रमा बजारबाट प्रिगनेन्सी किट ल्याएर शर्मिलालाई जिम्मा लगाउनुभयो । श्रीमानले शर्मिलालाई किट जिम्मा दिने बित्तिकै चेकजाच गर्दा किटमा २ वटा रातोको धर्को देखेपछि शर्मिलाले गर्भवति भएको थाहा पाउनुभयो ।
गर्भवति भएको थाहा भएपछि एक छिन दुबै जनामा उत्साह र खुसीयाली छाएको दुबै जनाको भनाई छ । तर त्यसलाई थप पुष्टि गर्नका लागि दुबै जनाले नजिकै रहेको स्वास्थ्य संस्थामा पुग्नुभयो ।
स्वास्थ्य संस्थाले समेत गर्भवति भएको पुष्टि गरेको दुबै जनाको भनाई छ । शर्मिलाले बिहिबार बिहान दोस्रो सन्ताको रुपमा छोरीलाई जन्म दिनुभयो । यो अहिले यो बिषय सुनसरी मात्र नभइ कोसी प्रदेशमा निकै चर्चाको रुप लिएको छ भने एक तर्फ मिडियावाजी भइरहेको छ भने अर्को तर्फ कोसी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय बिराटनगको २०८३÷०८४ को च.न. ६२१ अनुसार जिल्ला अस्पताल इनरुवाका कार्यालय प्रमुख सन्तोषप्रसाद साहलाई जिम्मेवारी मुक्त गरेको छ । सुरक्षित सुत्केरी गराउन जिल्ला अस्पताल इनरुवादेखि विराटनगर स्थित कोशी अस्पतालको गेटसम्म पुग्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्नले स्थानीय स्वास्थ्य सेवा र मातृत्व तथा शिशु सुरक्षा कार्यक्रमको प्रभावकारिता माथि प्रश्न उठाएको छ ।
गर्भवती महिलालाई स्थानीय स्तरमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने, जोखिमयुक्त गर्भावस्थाको समयमै पहिचान गर्ने र जटिल अवस्था देखिएमा सुविधा सम्पन्न अस्पतालमा तत्काल पु¥याउने उद्देश्यले मातृत्व तथा शिशु सुरक्षा कार्यक्रम सञ्चालन हुँदै आएका छन् । तर कार्यक्रम सञ्चालन भइरहँदा पनि शर्मिला सदाले सुरक्षित प्रसूति सेवाका लागि जिल्ला अस्पताल इनरुवादेखि विराटनगरसम्म पुग्नुपर्ने अवस्था आउनुको कारणबारे सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने देखिएको छ ।
विशेषगरी आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका गर्भवती महिलाका लागि स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व हो । स्थानीय स्वास्थ्य संस्थामा उपलब्ध सेवा, जिल्ला अस्पतालको प्रसूति सेवा तथा आवश्यकता अनुसार सुविधा सम्पन्न अस्पतालमा पठाउने व्यवस्था बीच प्रभावकारी समन्वय हुन नसके गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य जोखिममा पर्न सक्छ । शर्मिला सदाको घटनाले कोशी गाउँपालिकामा मात्र नभइ सुनसरी, सप्तरीसंगै देशका बिभिन्न स्थानीयतहमा सञ्चालित मातृत्व तथा शिशु सुरक्षा कार्यक्रम लक्षित समुदायसम्म प्रभावकारी रूपमा पुगेको छ वा छैन भन्ने विषयमा समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएको छ । गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, जोखिमको पूर्व पहिचान, समयमै रेफरल, एम्बुलेन्स तथा यातायातको व्यवस्था र अस्पताल बीचको समन्वयबारे पनि प्रश्न उठेको छ ।
जिल्ला अस्पताल इनरुवाबाट विराटनगर स्थित कोशी अस्पतालसम्म पुग्नुपर्ने अवस्था किन सिर्जना भयो, इनरुवा अस्पतालमा आवश्यक प्रसूति सेवा उपलब्ध थियो वा थिएन, शर्मिलाको स्वास्थ्य अवस्था कस्तो थियो र उहाँलाई कुन स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाहमा विराटनगर पठाइएको थियो भन्ने विषय स्पष्ट हुन आवश्यक छ ।
यस घटनाबारे कोशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामअवतार यादबले यस बिषयमा आफु अनविज्ञ रहेको हामीसंगको कुराकानीका क्रममा बताउनुभयो ।
मातृत्व तथा शिशु सुरक्षा कार्यक्रमको उद्देश्य कागजमा सीमित नभई आवश्यकता परेका गर्भवती महिलाले समयमै गुणस्तरीय सेवा पाउनु हो । त्यसैले शर्मिला सदाको घटनालाई आधार बनाएर सम्बन्धित निकायले सेवा प्रवाहको वास्तविक अवस्था समीक्षा गर्नुपर्ने देखिएको छ।
शर्मिला सदालाई इनरुवादेखि विराटनगरसम्ममा उपचारका क्रममा भोग्नुपरेको अवस्थाबारे सम्बन्धित निकायको आधिकारिक विवरण प्राप्त हुन बाँकी छ।