सुनसरीको धानबालीमा फौजी किराको प्रकोप
इनरुवा, असोज २४ गते । किसानले लगाएको धानबालीमा दुईसत्तायता फौजी किराको प्रकोप बढेकाले सुनसरी जिल्लाका किसानहरु चिन्तित बनेका छन् । जिल्ला सदरमुकम समेत रहेको इनरुवा नगरपालिका– ५, ६, ७, ८, ९ र १० सहितका वडाका किसानले लगाएको धानबालीमा बाला लागेसगैं फौजी किराको प्रकोप बढेको हो । त्यसैगरी इटहरी उपमहानगरपालिका–१७ पक्ली, दुहवी नगरपालिका, बर्जु र गढी गाउँपालिका लगायत जिल्लाभरि फौजी किराको प्रकोप बढेकाले धान उत्पादक किसानहरू चिन्तित बनेका हुन् ।
जिल्लामा ५५ हजार हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकोमा करिव २० प्रतिशत क्षेत्रमा फौजी किराको प्रकोप बढेको किसानको गुनासो छ । इनरुवा ९ बबियाका किसान बुचुवा यादवले भन्नुभयो “आफूहरुको जग्गामा लगाएको धानबाली फौजी किराले क्षति पु¥याएको भएपनि न परामर्श दिने प्राविधिक नै पाकिलामा भेट्छन न विषाधी नै काम गरेको छ । ”
अस्थानीय स्थानीय कृषक चन्दन साहले आफ्नो खेतको तयार हुन थालेको धानको बाला फौजी किराले काटेर नष्ट गरेको गुनासो गर्नुभयो । उहाँको १० कठ्ठामा लगाइएको स्वर्णा, राधाबाह्र धानमा यसरी किराले क्षति पु¥याएको बताइएको छ । साहले थप्नुभयो “ धान वाली सखाप हुँदा यहाँका किसानमा पीडामाथि पीडा थपिदिएको छ फौजी किराले, किसानहरू अत्यधिक पीडित बन्दै गएका छन् । मुरी भित्र्याउने बेलामा यसरी फौजी किराले एक्कासि धान वाली सखाप पारेपछि किसानको लगानी समेत डुब्ने भएको छ । ” आफूले मात्रै होइन, अन्य कृषकहरूको पनि यस्तै बेहाल छ । कृषिका लागि परिचित सुनसरी जिल्लाका किसानहरूलाई विभिन्न पालिकाहरुले समय समयमा विभिन्न तालिम, सल्लाह, सुझाव दिने काम गर्दै आएको र अहिले देखिएको फौजी किरा व्यापक नभएको कृष ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहले प्रतिकृया दिनुभयो ।

१, सुनसरीको इनरुवा ९ का किसानले फौजी किरा समातेर देखाउदै ।
