सुनसरीमा आठ जनाले लिए उम्मेदबारी फिर्ता
सुनसरी
२०७९ असोज २६ गते । सुनसरीमा असोज २३ गते आइतवार मनोनयन दर्ता गराएका २१३ जना उम्मेदबारहरु मध्ये असोज २६ गते आठ जना उम्मेदबारले आफ्नो मनोनयन फिर्ता लिएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सुनसरीका विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदबारी दर्ता गराएका मध्ये स्वतन्त्रबाट आठ जानले मनोनयन फिर्ता लिएको मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ । यहाँका चार वटा प्रतिनिधि सभाका लागि ९५ जनाले मनोनयन दर्ता गराउनुभएकोमा निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदबार कपिलेश्वर यादव र आठ वटा प्रदेश सभा सदस्यका लागि ११८ जनाले उम्मेदबारी दर्ता गराउनुभएकोमा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट पासागं डोल्मा गुरुङ्ग, निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट कमलबहादुर बस्नेत, निर्वाचन क्षेत्र नम्बर २ (क) बाट अनिता बस्नेत र बद्री नारायण चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट गोविन्द्र प्रसाद घिमिरे, निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट सविता यादव र क्षेत्र ४ (ख) बाट दिपक कटुवालले आ–आफ्नो मनोनयन फिर्ता लिनुभएको हो । मनोनयन फिर्ता लिन आज विहान १० बजेदेखी १ बजेसम्म समय दिएकोमा आठ जनाले मनोनयन दर्ता फिर्ता लिएका मूख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार मनोनयन फिर्ता लिने बाहेकका सबै उम्मेदबारलाई निर्वाचन चिन्ह वितरण समेत अहिले गरिएको छ ।
उम्मेदवारी फिर्ता लिनुहुनेमा निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र भई उम्मेदवार बन्नुभएका कपलेश्वर यादव नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री हुनुहुन्छ भने सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ (क) मा स्वतन्त्र उम्मेदवार बन्नुभएकी सविता यादव संविधानसभा सदस्य हुनुहुन्छ । यादव जनता समाजवादी पार्टीकी नेतृ समेत हुनुहुन्छ । सुनसरी क्षेत्र नम्बर–२ (क) बाट बद्री नारायण चौधरी नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानाध्यापक हुनुहुन्छ ।
