जयकृष्ण यादव । इनरुवा
इनरुवा, मङ्सिर १३ गते । सनिबार दिउसोबाट स्थगित भएको सुनसरीको निर्वाचन क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्य तीनदिनपछि सुचारु भएको छ । मतगणनामा त्रृटि भएको भन्दै पुनः मतगणनाको माग गर्दै नेपाली कांग्रेसका उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएको निवेदन उपर सुनुवाई गर्दै निर्वाचन आयोगले दिएको निर्देशन अनुसार मंगरबार सर्वदलिय बैठक बसेर दिउसो साढे चार बजेबाट मतगणना कार्य सुचारु भएको छ । उम्मेदबारहरु सहितको सर्वदलिय बैठकबाट सीसीटिभी फुटेज हेर्ने प्रस्ताव आएकाले त्यसै अनुसार सीसीटिभी फुटेज हेर्ने काम मध्यान सम्म भएको, यसअघि जारी गरिएको गणक परिचय पत्र खारेज गरी नयाँ परिचय पत्र जारी गरेको, गणनामा खटिएका यसअघिका सबैलाई निकालेर सुनसरी जिल्ला अदालतका मात्रै कर्मचारीलाई गणनामा खटाएर दिउसोबाट मतगणना कार्य सुचरु भएको सहायक निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले जानकारी दिनुभयो ।
यस क्षेत्रमा हालसम्मको मतगणनामा कांग्रेसका उम्मेदवार कार्कीले २३ हजार ६८६ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । नेकपा (एमाले)का उम्मेदवार जगदीशप्रसाद कुसियैतले २३ हजार ५२६ मत प्राप्त गर्नुभएको छ ।
सोमबार मात्रै निर्वाचन आयोगका उपसचिव ऋषिराम भुसालको हस्ताक्षर गर्नुभएको निर्देशन पत्रमा यसअघि मतगणना गर्दा सिसिटिभी भएको भए त्यसको फुटेज सम्बन्धित पक्षले हेर्न चाहेमा देखाउन र सुरक्षित राख्न पनि भनिएको थियो ।
आयोगको पत्रमा भनिएको थियो, ’’प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ दुबैको दफा ५७ को उपदफा (१) बमोजिम कुनै मतदान केन्द्रको मतगणना समाप्त नहुँदै वा गणना गरिएको मतपत्र सिलबन्दी हुनु पहिले सम्बन्धित निर्वाचन क्षेत्रको कुनै उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले केही वा सबै मतपत्र दोहोर्याई गणना गरिपाउँ भनी तत्काल निर्वाचन अधिकृतसमक्ष कारणसहित निवेदन दिएमा उक्त मतदान केन्द्रको मतगणना भइनसकेको वा गणना भएको मतपत्र सिलबन्दी भइनसकेको भए ऐ. ऐनको ऐ दफाको उपदफा (२) बमोजिम दोहो¥याई मतगणना गर्न सक्ने कानूनी व्यवस्था भएकाले निर्वाचन अधिकृतले गणना गर्न सक्ने तर कुनै मतदान केन्द्रको मतगणना भई मतपत्रहरु सिलबन्दी भइसकेको भए उक्त सिलबन्दी मतपत्रहरु खोली पुनः मतगणना गर्न सक्ने कानूनी आधार नदेखिएकाले ऐ. ऐनको ऐ. दफाको उपदफा (३) बमोजिमको सूचना दिई मतगणना कार्य सुचारु गर्न गराउन तथा मतगणनास्थलमा सिसिटिभी रहेको भए सोको फुटेजसमेत सुरक्षित राखी सम्बन्धित पक्षले हेर्न चाहेमा देखाउने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने भन्ने आयोगबाट मिति मंसिर १२ मा निर्णय भएकाले निर्णयानुसार हुन अनुरोध छ ।’’