जयकृष्ण यादव । इनरुवा
इनरुवा, मङ्सिर १३ गते । सुनसरीको निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको अन्तिम नतिजा सार्वजनिक भएको छ । यहाँ प्रतिनिधि सभा सदस्य तर्फ उम्मेदवारी दिनुभएकी नेकपा एमालेकी भगवती चौधरीले ४० हजार ७८८ मत सहित विजयी हुनुभएको छ भने निकटतम प्रतिद्धन्दी नेपाली काग्रेंसका उम्मेदबार विजय कुमार गच्छदारले ३५ हजार ६०० मत ल्याउनुभयो ।


सुनसरी क्षेत्र नं. ३ (२) प्रदेश सभामा यादव विजयी
सुनसरीको निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा ३० वर्षपछि नेकपा एमालेका उम्मेदबारहरु विजयी भएका छन् । यसक्षेत्रमा प्रजातन्त्र स्थापनादेखी लगातार नेपाली काग्रेंसले जित्दै आएकोमा यसपाली प्रतिनिधि सभा र प्रदेश सभा सदस्य दुवैतर्फ नेकपा एमालेका उम्मेदवारहरु विजयी हुनुभएको छ ।


यहाँको निर्वाचन क्षेत्र नम्बर ३(२) मा प्रदेश सभा सदस्यमा एमालेका रामदेव यादव निर्वाचित हुनुभएको छ । नेकपा एमालेका उम्मेदबार रामदेव यादवले १९ हजार ४७९ मत सहित विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नेपाली काग्रेंसका विन्देश्वर यादवले १८ हजार ८९१ मत ल्याउनुभयो । उता जनता समाजवादी पार्टीको सहयोगमा एमालेका उम्मेदबारहरु सुनसरीको तीन प्रतिनिधि सभा र छ जना प्रदेश सभामा निर्वाचित भएको जसपाका नेताहरुले बताएका छन् । एमालेको साथ एउटा प्रतिनिधि सभा सदस्य जनता समाजवादी पार्टीका उम्मेदबार विजयी भएको जसपाका नेता रन्जित गौस्वामीले बताउनुभयो । गौस्वामीका अनुसार जसपा एकलै जित्ने अवस्थामा नभएपनि जिताउन र हराउनमा महत्वपूर्ण योगदान गरेको छ । तीन दशकदेखीको नेपाली काग्रेंसको एकछत्रिय शासनलाई अन्त्य गर्दै एमाले जसपाका उम्मेदबारहरु विजयी भएकोमा आफूहरु निकै खुसी भएको गौस्वामीले बताउनुभयो ।

गौस्वामीले जज न्यूजसंग कुराकानी गर्नुहुदै सुनसरीमा रुखको जरैबाट उख्लने काममा जसपाको ठूलो योगदान रहेकाले एमालेले यसलाई मूल्याकन समेत गर्नुपर्ने बताउनुभयो ।

सुनसरी क्षेत्र नं. ३(१) प्रदेश सभामा कार्की विजयी
सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३(१) मा प्रदेश सभा सदस्यका उम्मेदबार नेकपा एमालेका रोहित कार्कीले १८ हजार ६४१ मत सहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका सरस्वती पोखरेलले ९ हजार ४९८ मत ल्याउनुभयो ।
कार्कीले प्रदेश १ की उपसभामुख समेत रहनुभएकी पोखरेललाई फराकिलो मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । निर्वाचित कार्की नेकपा एमाले प्रदेश कमिटी सदस्य हुनुहुन्छ । सुनसरी निर्वाचन क्षेत्र नं ३ को प्रदेश (१) मा ४३ हजार ३ सय १९ मत खसेको थियो ।


१, प्रदेश सभा तर्फ नेकपा एमालेका रोहित कार्की ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा