लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा सचेतना मुलक कार्यक्रम
जयकृष्ण यादव । इनरुवा
इनरुवा,मङ्सिर १४ गते । सुनसरीको विभिन्न स्थानीय तहहरुमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भव्यताका साथ जारी रहेको छ । यसैक्रममा सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकाले पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भव्यताका साथ मानाईरहेको छ ।
पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले १६ दिनसम्म गाउँपालिकाभर विशेष अभियान सञ्चालन गरिएकोमा सोही क्रममा भोक्राहा नरसिंह गाउँपालिका महिला शाखाले गाउँघरमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरेको छ ।
दिशवको अवसरमा भोक्राहा नरसिंह गाउँपालिका ७ को जनता माविमा बुधबार सचेतना मुलक कार्यक्रम गरेको महिला विकास शाखा प्रमुख तुलसा निरौलाले जानकारी दिनुभयो । सम्पन्न भएको कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष सुनिताकुमारी उराँवले हिंसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याँय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियान मार्फत आह्वान गर्नुभयो ।
भोक्राहा नरसिंह गाउँपालिकामा स्थानीय महिला तथा मानव अधिकार समूह समेतको सहभागितामा महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत कार्यक्रम सम्पन्न गरेको उराँवको भनाई छ ।
उराँवले लैङ्गिक हिंसालाई मानवता विरुद्धको अपराध मानिएकाले यसको अन्त्यका लागि सरकारले विभिन्न अभियान सञ्चालन गरिरहेको र सोही क्रममा आफूहरुले पनि अभियान चलाएको बताउनुभयो ।



कार्यक्रममा पत्रकार जयकृष्ण यादवले लैङ्गिक हिंसा शुन्यताका लागि र यसको अन्त्यका लागि एक हुनु पर्नेमा जोड दिनुभयो । नागरिक समाजका तर्फबाट इन्सेकसंग आवद्ध मानव अधिकार समूहका भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष नुनुलाल साहले महिला हिंसा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउँदै लैङ्गिक हिंसा अन्त्यका लागि सरकारले थप नयाँ कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

