सुनसरी क्षेत्र नं. ४ बाट दोस्रो पटक विकास प्रेमी मन्त्री कार्की विजयी
जयकृष्ण यादव । इनरुवा
इनरुवा, मङ्सिर १५ गते । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् सरकारका प्रवत्ता समेत रहनुभएका सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित हुनुभएको छ । विहीबार सार्वजनिक भएको मतपरिणाम अनुसार मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभयो । मन्त्री कार्कीले ११२ मतको अन्तरले विजयी हुनुभएको हो । उहाँ २०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको नेतृत्वमा रहेको सरकारमा अर्थमन्त्रीसमेत भइसक्नुभएको छ । दोस्रो पटक २०७८ असार २९ गते गठन भएको सरकारमा समेत सञ्चार मन्त्रीको जिम्मेबारी पाउनुभएको र हालसम्म बहाल रहनुभएको छ । मन्त्री कार्कीले २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं. ४ बाटै एमालेका उम्मेदबार रमेश श्रेष्ठलाई पराजित गरेर जित हासिल गर्नुभएको थियो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभएको छ । विद्यार्थी अवस्थादेखि नै राजनीतिमा सक्रिय रहनु भएका नेता कार्कीले सुनसरी क्षेत्र नं. ४ मा गर्नुपर्ने विकास र पुर्याउनुभएको योगदानका कारणले पुनः दोस्रो पटक निर्वाचित हुनुभएको कोशी मावि पश्चिम कुशाहाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुदेव यादवले बताउनुभयो ।
मन्त्री कार्की विजयी भएपछि मतदाता खुसी ः सुनसरीको निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो कार्यकालका लागि वर्तमान मन्त्री ज्ञानेन्द्र बहादुर कार्की निर्वाचित भएपनि यस क्षेत्रका मतदाताले खुसी व्यक्त गरेका छन् । मन्त्री कार्की निर्वाचित हुनुभएकोले यस क्षेत्रको विकास हुने र शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार लगायतका क्षेत्रमा बाकी रहेका काम समेत हुने भन्दै मतदाताले खुसी व्यक्त गरेका हुन् । इनरुवा नगरपालिका ४ का
मतदाता सूर्यनारायण यादवले यस क्षेत्रमा कार्की जस्तो नेता पाउनु नै आफूहरुको लागि गौरवको विषय भएको बताउनुभयो । यादवले आफूहरु पहिलादेखी नै सय मतले भएपनि मन्त्री कार्की जित्नुहुन्छ भन्ने आश गरेको र झिनो मत भएपनि जिताउन पाउदाँ निकै खुसी भएको बताउनुभयो ।


कोशी गाउँपालिका २ पश्चिम कुशाहाका मतदाता रामशागर यादवले समेत मन्त्री कार्कीले विगतमा गर्नुभएको विकासको कामले प्रभावित भएर मतदान गरेको र मतदान गरेकै उम्मेदबार जितेको हेर्न पाउदाँ खुसी लागेको प्रतिकृया दिनुभयो । विजयी जुलुसमा सहभागीहरुले समेत मन्त्री कार्की सासद मात्रै नभएर देशको लागि आवश्यक नेता समेत भएकाले मत दिएर विजयी गराएको प्रतिकृया दिएका छन् ।
मन्त्रीको क्षेत्रमा छ हजार बढी मत बदर ः सुनसरीको निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य तर्फ कुल ८० हजार ८८२ मत खसेकोमा छ हजार ४५९ मत बदर भएको छ । यस क्षेत्रमा मतदाता शिक्षा प्रभावकारी नभएका कारणले मत बदर संख्या बढी भएको हो । यो कुल मतको आठ प्रतिशत हो ।
