जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ २४ गते । मेलमिलाप परिषद अध्यक्ष ईश्वरप्रसाद खतिवडाले दुई वर्ष पुराना मुद्धा प्रकृया पुरा गरेर फर्छौट गर्न निर्देशन दिनुभएको छ । देशभरका अदालतमा १३ हजार बढी मुद्धाहरु दुई वर्ष नाघेका रहेकाले त्यसलाई प्रकृया पुरा गरेर फर्छौट गर्न निर्देशन दिनुभएको हो । सुनसरी सदरमुकाम इनरुवामा मेलमिलाप सम्बन्धी अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै खतिवडाले पुराना मुद्धाहरु फैसला गर्न निर्देशन दिनुहुदै नागरिकलाई न्यायको महसुस गराउन आग्रह गर्नुभयो । अदालत प्रतिको आस्था र विश्वासका लागि छिटोछरितो र ढंग पुर्याएर पुराना मुद्धाहरु फैसला गर्न निर्देशन सबै जिल्ला अदालत र उच्च अदालतहरुलाई दिएको बताउनुभयो ।
सुनसरी जिल्ला अदालतमा पनि चालु आर्थिक वर्षमा दायित्व सरेर आएका २ वर्ष पुराना पाँच सयको संख्या मुद्दाहरु फैसला हुन बाँकी रहेको पाएकाले त्यसलाई असार मासन्तसम्ममा सबै प्रमाण र प्रकृया पुरा गरेर फर्छौट गर्न निर्देशन दिएको बताउनुभयो । परिषद अध्यक्ष खतिवडाले चालु आर्थिक वर्षको पुस मसान्तसम्म देशभरका ७७ जिल्ला अदालत र उच्च अदालत सहितमा २ वर्ष नाघेका १३ हजार वटा देवानी र फौजदारी मुद्दा फैसला हुन बाँकी रहेकाले त्यसमा सकृया पूर्वक फर्छौट गर्न निर्देशन जारी गरेको बताउनुभयो ।


अदालतहरुमा कर्मचारी र न्यायधिससम्मले सुविधा नछाड्ने तर काम समयमा समपादन गर्ने स्थिती रहेकाले त्यसमा सुधार गर्न र विवादरहित फैसला तर्फ ध्यान दिनुपर्ने न्यायधिशहरुलाई निर्देशन दिनुभयो । मुद्धाहरुको पेसी अपवादमा बाहेक हटाउन, नसार्न र स्थगित नगर्न समेत निर्देशन दिनुभयो । उहाँले न्यायिक प्रकृया भित्र रहेर काम गर्न र विवेकको प्रयोग गर्न समेत आग्रह गर्नुभयो । न्यायिक क्षेत्रमा उदाशिन्ता र अक्रमणयताले कसैलाई लाभ नगर्ने भएकाले सुसंस्कृत र दृष्टिकोणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
फरक प्रसंगमा मेलमिलाप हुने मुद्धाहरुलाई न्यायधिशहरुले पनि मेलमिलाप तर्फ प्रोत्साहन गर्दै मेलमिलापमा पठाउनुपर्ने बताउनुभयो । मुद्धाहरुको अवस्था र पक्षको व्यवहारलाई हेरेर मेलमिलाप मार्फत मेलमिलाप गराउनुपर्ने बताउनुभयो ।


कार्यक्रममा मेलमिलापकर्ता एवम् पत्रकार जयकृष्ण यादवले मेलमिलापमा पठाउने मुद्धाहरुलाई समेत काम गर्नेहरुलाई पठाउनुपर्ने वा पक्षहरुलाई नै मेलमिलापकर्ता रोज्न दिनुपर्ने बताउनुभयो । यादवले सामूहिक रुपमा मेलमिलापलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने तथा मेलमिलाप हुने मुद्धाहरु प्रायः सोही प्रकृयामा पठाउनुपर्ने बताउनुभयो । यादवले मेलमिलापकर्ताहरुलाई प्रोत्साहन गर्नुपर्ने, प्रचारप्रसार गर्नुपर्ने, पक्षहरुलाई परामर्श समेत दिनुपर्ने बताउनुभयो ।
त्यसैगरी अधिवक्ता समेत रहनुभएका मेलमिलापकर्ता पञ्चदेव मेहताले मेलमिलापमा मुद्धा पठाउदाँ प्रमाणहरु समेत दिनुपर्ने बताउनुभयो । समयावधी बढाउनुपर्ने, मेलमिलापकर्ताहरुलाई पारिश्रमिक समयमा दिनुपर्ने बताउनुभयो ।
अर्का अधिवक्ता एवम् मेलमिलापकर्ता अशोक मेहताले मेलमिलापलाई थप प्रभावकारी बनाउनुपर्ने र मुद्धा हेर्ने वा मेलमिलाप गराउनेलाई परिवहन खर्च समयमा दिनुपर्नेे सुझाव दिनुभयो । कार्यक्रममा मेलमिलापकर्ता बलेन्द्र मेहता, बाबुराम भट्टराई, खेमराज लामिछाने, वीरेन्द्र गौतम लगायतकाले अधिवक्ता समेत रहनुभएका मेलमिलापकर्तालाई उत्साहका लागि कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । वत्ताहरुले मेलमिलापमा मुद्धा पठाउदाँ पक्षहरुसंग बस्दा पैसा लिन नपाउने भएकाले मेलमिलापकर्ताकै चिया पानीमा रकम खर्च हुने भएकाले मेलमिलापकर्ताहरु सुचिकृत हुन छाडेकोमा ध्यानाकर्षण गराउदै मेलमिलाप परिषदलाई ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा सुनसरी जिल्ला न्यायधिश अर्जुन अधिकारीले आफूहरुले परामर्शदेखी फर्छौटसम्ममा कृयाशिल भएर लागिपरेको बताउनुभयो । अधिकारीले आफूहरुले सक्दो राम्रो काम गरेको बताउनुभयो । कार्यक्रममा इनरुवा नगरप्रमुख केदार भण्डारी, प्रमुख प्रशासकिय अधिकृत दशरथ राई र उपप्रमुख विनिता कुमारी मेहता सहितको उपस्थिती रहेको थियो ।
दुई वर्षअघि कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण अदालतको काम प्रभावित हुदाँ पुराना मुद्दा फैसलामा ढिलाई भएको जिल्ला अदालतका श्रेस्तेदार मोहन बहादुर अधिकारीले जानकारी दिनुभयो ।

१, मेलमिलाप परिषद अध्यक्ष ईश्वरप्रसाद खतिवडा सम्बोधन गर्दै ।

तस्विर ः जयकृष्ण यादव। इनरुवा