महिलाको समान पहुचमा जोड
जयकृष्ण यादव । इनरुवा
इनरुवा, चैत १९ गते । सुनसरी सदरमुकाम इनरुवामा आयोजित एक कार्यक्रमका सहभागिहरुले महिलाको समान पहुच र प्रतिनिधित्वमा जोड दिएका छन् ।
ओरेक नेपालको ३२ औं वार्षिक उत्सव कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले राज्यको पहुच र नेतृत्वमा महिलाको समान पहुच आवश्यक रहेको बताउनुभयो ।


विकासको कार्यदेखी नेतृत्व तहमा समेत महिलाहरुको समान पहुच र प्रतिनिधित्व आवश्यक रहेको बताउनुभएको हो ।
त्यसैगरी दुहवी नगरपालिकाका उपप्रमुख मेनुका खतिवडाले राज्यको संयन्त्रमा महिलाहरुको सहभागीता बढेको भएपनि अर्थपूर्ण सहभागिताको खाचो रहेको बताउनुभयो । उहाँले संविधानमा भएको व्यवस्था अनुसार संख्यात्मक रुपमा प्रतिनिधित्व भएपनि नेतृत्व र पहुचमा अझै पनि पछाडि पारिएको गुनासो गर्नुभयो । पृतिसत्तात्मक समाजमा महिलाहरुको शिक्षा, स्वास्थ्य र रोजगार पहुच स्थापिन नहुदाँसम्म समान पहुच र प्रतिनिधित्व नहुने भएकाले यसमा राज्यको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
गढी गाउँपालिकाका उपाध्यक्ष अनित कुमारी साहले महिलाहरुको शरिर माथिको अधिकार पनि अरुको नियन्त्रणमा रहेकाले शिक्षा, राज्य समन्त्र र निकायमा समान पहुच तथा प्रतिनिधित्व हुननसकेको बताउनुभयो । इनरुवाका पूर्व उपप्रमुख जमुना गौतम पोखरेलले महिलाहरु आफै जागरुक हुनुपर्ने र पुरुषहरुले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
गैरसरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौपानेले महिलाहरुले पाएको जिम्मेबारी र भुमिका कुसलपूर्वक निर्वाह गर्दै आएकाले थप पहुचका लागि संर्घष र दवाव सृजना गर्नुपर्ने बताउनुभयो ।
मानव अधिकार संजालका अध्यक्ष रमेश भट्टराईले सहर केन्द्रित कार्यक्रमलाई गाउँ केन्द्रित गरेर महिला तथा बालबालिकाको क्षेत्रमा प्रभावकारी काम गर्न आग्रह गर्दै त्यसका लागि आफुहरु पनि हातोमालो गरेर अघि बढ्ने बताउनुभयो । ओरेक सुनसरीकी विमला घिमिरेको अध्यक्षता एवं जिल्ला समन्वय समिति सुनसरीका उपप्रमुख कमला खतिवडाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा एम नेपालकी चुन्नी खातुनले अधिकारका लागि शक्तशक्तिकरण समेत आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा इनरुवा ३ का वडाध्यक्ष रमेश कुमार श्रेष्ठ, सदस्य सविता सिग्देल, महिला अधिकारकर्मी कानन अधिकारी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरिक्षक निराला भण्डारी, मानवअधिकार एलाईन्सका अध्यक्ष रविन घिमिरे लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम सहित वृतचित्र, भिडियो, तस्विर प्रदर्शनी प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्लाका महिला अधिकार, बालअधकिार र मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
१, सुनसरीको इनरुवामा आयोजित महिला अधिकारको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहतिका सरोकारबालाहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा




