पुर्वराजा ज्ञानेन्द्र शाहलाई सुनसरीको सदरमुकाम इनरुवामा नागरिक अभिनन्दन गरिएको छ । नेपालमा गणतन्त्र स्थापना पश्चात पहिलो पटक पूर्व राजालाई नागरिक अभिनन्दन गरिएको हो । आईतबार इनरुवाको जेल मैदानमा हजारौं स्थानीयहरुको बीचमा आयोजित कार्यक्रममा नागरिक अभिनन्दन गरिएको हो । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्यताका साथ नागरिक अभिनन्दन गरिएको जनाएको छ । पूर्वाञ्चल क्षेत्रीय नागरिक अभिनन्दन मुल आयोजक समिति इनरुवा सुनसरीको नाममा साहलाई अभिनन्दन गरेको जनाइएको हो ।


इनरुवा स्थित जेल फिल्डमा अभिनन्दन गरिएको छ । पूर्वका नागरीकहरुद्धारा पूर्व राजा साहलाई अभिनन्दन गर्न कार्यक्रममा १ हजार १ जनाको मुल तयारी समिति गठन गरेको थियो । सोही समितिका नेता एवम् पूर्व शिक्षा मन्त्री केशर बहादुर विष्टले राजसंस्थामा विश्वास राख्ने क्षेत्र, दल ,सङ्घ सङ्गठनमा आबद्ध व्यक्तिहरूको उपस्थितिमा अभिनन्नद गरिएको बताउनुभयो ।
अभिनन्दन कार्यक्रमममा विभिन्न राजनैतिक दलका स्थानीय प्रतिनिधीहरुको पनि उपस्थिति रहेको थियो । फाल्गुन ७ गते पुर्वराजा ज्ञानेन्द्र साहद्वारा देशको अवस्था चिन्ताजनक रहेको र सबै दललाई देश विकासको लागी आह्वान गरिएको स्मरण गराउँदै अभिनन्दन गरिएको आयोजकको दावी रहेको छ । नेपालको लागी नेपाली, जय राष्ट्रवादी दल, राष्ट्रिय सरोकार मञ्च जस्ता दल तथा कालु पाण्डे प्रतिष्ठान, गुरु गोरक्ष अभियान जस्ता संस्थानहरूको सहभागितामा इनरुवामा अभिनन्दन कार्यक्रम गरिएको थियो । कोशी र मधेश प्रदेश तथा आसपासबाट ३० हजारको संख्यामा जनताको सहभागितामा अभिनन्दन गरिएको जानकारी दिनुभयो । साह इनरुवाको खेल (जेल) मैदानमा नागरिक अभिनन्दन ग्रहण गर्दै कार्यक्रमबाट सडक मार्ग प्रयोग गरेर विदाई हुनुभएको आयोजकले जनाएको छ ।

यसैबीच कार्यक्रमलाई सम्बोधन गर्नुहुदै पूर्वराजा साहले अहिलेको राजनैतिक प्रणालीले कुनैपनी परिणाम दिन नसक्ने आरोप लगाउनुभयो । आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दलित व्यवस्थाले देशलाई निकास दिन नसक्ने बताउनुहुदै साहले नारायणहिटीबाट बहिर्गमन भएपछि पहिलो पटक सभालाई औपचारिक सम्बोधन गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले देशको मौलिक मूल्यमान्यता र स्वविमानलाई जीवन्त राख्नुपर्ने धारणा राख्नुभयो । हामीलाई हाम्रो देश सधैँ प्यारो लाग्छ । आजको भेलाले यही गौरव र प्रेम प्रकट भएको छ । तपाईँहरूले दर्शाउनु भएको देश भक्तिको सम्मान गर्दछु । सही राज्य पद्धतिको सुरुवात शान्ति र अनुशासन बिना हुँदैन, उहाँले भन्नुभयो ।
कसैलाई लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भएको उहाँको आरोप छ । परिवर्तन देखाउन आलटाल र टालटुल प्रणालीले खँदिलो परिणाम नदिने उहाँको उद्घोष छ । राष्ट्रिय एकताको रक्षा गर्नु र सार्वभौमिकता जोगाउनु नै धर्म भएको शाहले बताउनुभयो । व्यक्ति, परिवार, गुट र उपगुटमा अल्झिएर भन्दा पनि सुशासनको माध्यमबाट विकास गर्नुपर्ने बताउनुभयो ।

तस्विर ः गनेश यादव । आवरसुनसरी

भिडियो ः सत्य संसार र जजन्युज