नेतृत्व विकास तालिम
इनरुवा, वैशाख ४ गते । सुनसरीको गढी गाउँपालिका ४ छिटाहामा पिछडा वर्गका महिलाहरुका लागि नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । वडाका महिलाहरुको नेतृत्व विकास गर्ने उद्देश्यले आयोजित सो तालिममा नेतृत्व, क्षमता , उद्घोषण र भाषण कलाको बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको छ । गाउँका ३५ जना महिलाको सहभागिता रहेको उक्त तालिमको पत्रकार जयकृष्ण यादवले सहजीकरण गनुभएको थियो । कार्यक्रममा आयोजक चन्द्रमुखी महिला विकास संस्थाका प्रदिप साहले पीछडा वर्गका महिलाको क्षमता विकासको लागि बोल्ने कला आवश्यक रहेको भन्दै तालिम मत्वपूर्ण भएको बताउनुभयो ।



त्यसैगरि संस्थाका कोषाध्यक्ष दुलारी साहले स्थानीय तहको सहयोगमा महिलाले अब आफ्नो क्षमता अभिवृद्धि गर्दै नेतृत्व तहमा पुग्न अभ्यास गर्नुपर्ने बताउनुभयो । वडा सदस्य बिमलीदेजी उराँवले महिलाको नेतृत्व विकास भए मात्रै महिलाले आफ्नो अधिकार खोज्न सक्ने बताउनुभयो । नेतृत्व विकास तालिम हरेक महिलाका लागि आवश्यक रहेको उराँवले औल्याउनुभयो । सहभागिको तर्फबाट सरीता साह र चन्द्रिका मेहताले आफ्नो अनुभव राख्दै तालिमले आत्मविश्वास बढेको बताउनुभयो ।
