कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले कोशीटप्पुमा वन्यजन्तु सप्ताह २०८० बिशेष कार्यक्रम गरि मनाईएको छ । आरक्षले “समन्वय, सहकार्य र सहअस्तित्व वन्यजन्तु संरक्षण हाम्रो साझा दायित्व” भन्ने मुल नाराका साथ २८ औं वन्यजन्तु सप्ताह कोशीटप्पु वन्यजन्तु आरक्षमा भव्यताका साथ मनाईएको हो ।

सप्ताह कार्यक्रम जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाई सुनसरीको संयोजक एवं कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत रमेश कुमार यादवको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख अतिथित्यतामा सम्पन्न भएको थियो । सप्ताह कार्यक्रममा जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाई सुनसरीका सम्पूर्ण सदस्यहरु, एनटीएनसी, केसीसी, केबीसी,केबीएस,जेडएसएल, हिमालियन नेचर, केटीएलजी लगायतका संघ–संस्थाका पदाधिकारीको उपस्थिती रहेको थियो । त्यसैगरी आरक्ष प्रशासन र दुर्गादल गुल्मका सम्पुर्ण कर्मचारीहरुको उपस्तिथिमा वन्यजन्तु सप्ताहको अवसरमा जिल्ला भित्र वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धि विषयमा बृहत छलफल भएको थियो ।

उक्त वन्यजन्तु सप्ताहको अवसरमा प्रमुख संरक्षण अधिकृत रमेश कुमार यादव लगायत कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय र दुर्गादल गुल्मका गुल्मपति श्री गिरिराज गौतम लगायतका टिमले अवैध वन्यजन्तुको चोरी शिकारी नियन्त्रण, वन्यजन्तु उद्धार एवं वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यमा सहयोग गर्ने ईलाका प्रहरी कार्यालय लौकही सुनसरी, राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्र सुनसरी लगायतका १६ जनालाई कदर पत्र प्रदान गरि सम्मान समेत गर्नु भएको थियो ।