विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम
जयकृष्ण यादव । इनरुवा
इनरुवा,जेठ २५ गते । इनरुवा नगरपालिकामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीले विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्बन्धी अभिमुखीकरण तालिम सुरु गरेको छ ।
संघीय सरकारको कार्यक्रम अन्तर्गत सुरु भएको विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम विद्यालयस्तरमा तालिम आयोजना गरेको हो । आयुर्वेद चिकित्साको बारेमा जानकारी दिने र योग अभ्यासमा बानी पार्ने उद्देश्यले केन्द्रले विहीबारबाट इनरुवा ५ बलाहामा तालिम सुरु गरेको हो ।

विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम प्रदेश मातहतका जिल्लास्तरीय आयुर्वेदिक स्वास्थ्य संस्थाले कार्यक्रम सञ्चालन भएको शारदा माध्यमिक विद्यालयलाई प्राथमिकतामा राखेर कार्यक्रम गरेको केन्द्रका प्रमुख तथा आयुर्वेद चिकित्सक डा. संजिव कुमार यादवले जानकारी दिनुभयो । उक्त तालिममा विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थी, स्वास्थ्य तथा जनसंख्या पढाउने शिक्षक, विद्यालयका प्रधाानाध्यापक समेतको सहभागी रहेको छ ।
तालिममा आयुर्वेद चिकित्साको परिचय र महत्व, स्वस्थवृत्त (दिनचर्या, ऋतृचर्या, आहारविहार, जीवनशैली) सम्बन्धी सचेतना तथा स्थानीयस्तरमा प्राप्त हुने जडिबुटीको उपयोगिताबारे जानकारी गराउन र योगको बारेमा जानकारी दिनुका साथै योगका विभिन्न क्रियाकलापहरूको अभ्यास गराइने केन्द्रका प्रमुख यादवले जानकारी दिनुभयो । विद्यालयमा मात्र नभई परिवार समाजमा समेत आयुर्वेद तथा योग चिकित्साको आवश्यकता र महत्व बुझाउन सजिलो हुने देखेर स्कुलस्तरमा यो तालिम राखेको यादवको भनाई छ । विगतका वर्षहरूको तुलनामा यस वर्षको कार्यक्रम अझ प्रभावकारी हुनेमा आफूहरू विश्वस्त भएको बताउनुभयो ।
उक्त अभिमुखिकरण तालिममा योगको प्रशिक्षक कैलाश राय, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज पोखरेल, इनरुवा नरपालिका ५ का वडा अध्यक्ष अनिल कुमार पोखरेल सहितको उपस्थिती रहेको छ । यो तालिम सकिएपछि सहभागी विद्यार्थीहरूले हरेक हप्ता एक दिन विद्यालयमा कक्षा सञ्चालन गर्नेछन् । उक्त कक्षा प्रभावकारी भए–नभएको भन्ने विषयमा भने केन्द्रले त्रैमासिक रूपमा अनुगमन निरीक्षण तथा समन्वय गर्ने केन्द्रका प्रमुख यादवले जानकारी दिनुभयो ।

१, इनरुवा नगरपालिका ५ विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्बन्धी अभिमुखीकरण तालिमको उद्घाटन गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
