झुम्का कारागारको अवस्था नाजुक
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज १६ गते । सुनसरीको रामधुनीमा रहेको क्षेत्रीय झुम्का कारागारको जिर्ण भौतिक पूर्वाधारको कारणले अवस्था नाजुक बनेको गुनासो बाहिर आएको छ । झुम्का कारागारमा रहेको दुई वटा ब्लकको अवस्था जिर्ण भौतिक पूर्वाधारले नाजुक बनेको गुनासो बाहिर आएको हो । यहाँ रहेको बी ब्लकको अवस्था नाजुक हुनुको कारण छतबाट पानी चुहिने रहेको कैदीबन्दीहरुले गुनासो गरेका छन् । एउटामा पानी चुहिने समस्या र अर्को ए ब्लकको मूल भवन सामान्य रहेको तर अन्य कोठामा पानी चुहिने अवस्था रहेको कारागारका जेलर भीमप्रसाद भट्टराईले प्रतिकृया दिनुभयो । जेलर भट्टराईका अनुसार २०६६ सालमा स्थापना भएको झुम्का कारागार अरुको तुलनामा राम्रो भएपनि केही मर्मत सम्भार र नयाँ भवन, सवारी, स्वास्थ्यकर्मीको आवश्यकता रहेको छ । हाल रामधुनी नगरपालिका ५ मा रहेको कारागार तीन विघा ६ कठ्ठा क्षेत्रफल भुभाग ओगटेको छ । कारागारका सूचना अनधिकारी कृष्ण सुवेदीका अनुसार कारागारको क्षमता एक हजार ६ सय रहेको छ । हाल कारागारमा ५९९ जना स्वदेशी बन्दी र २६ विदेशी बन्दी रहेका छन् भने कारागारमा ९८४ जना स्वदेशी कैदी र २३ विदेशी कैदी रहेका छन् । ब्लक (ए) मा २३ वटा कोठा छ भने ब्लक (बी) ४९ वटा कोठा रहेको छ । कारागारको फरक प्रसंगमा दिपेन भन्ने डिल्लीप्रसाद अधिकारी नाइके र श्रीकुमार राई भाइ नाइके रहनुभएको छ । ब्लक अनुसारको कैदीबन्दीको संख्या हेर्दा (ए)मा ७९३ जना र (बी) मा ७९० जना रहेका छन् । यस कारागारबाट सुरुगं खनेर २०६९ सालमा १२ जना कैदीबन्दी भागेको थियो । कैदीबन्दीलाई अस्पताल र अदालत ओर्सानका लागि चार वटा गाडी भएपनि एउटामात्रै पूर्ण सञ्चालनमा रहेको र एउटा पूर्ण विग्रिएर थन्किएको छ भने दुई वटा आधा काम चलाउ रहेकोले समयमा अस्पताल र अदालत ओर्सान समस्या भएको कारागार स्रोतले जनाएको छ ।
कारागारमा दुई स्वास्थ्यकर्मीको दरबन्दी भएपनि दुई जना सिनियर अहेवको भरमा स्वास्थ्य सेवा दिईरहेको जनाएको छ । एक जना हेल्थअसिस्टेन र एक जना सिअहेवको दरबन्दी भएपनि काजमा दुई जना सिनियर अहेवको भरमा सेवा प्रवाह भईरहेको छ । जवबी उहाँ दैनिक स्वास्थ्य सेवा चाहिरहने अर्थात दिर्घ रोगी कैदीबन्दीहरु १६४ जना रहेका छन । कुल ५३ जना ६० वर्ष माथिका जेष्ठ नागरिक कैदीबन्दी रहेका छन भने १६४ जनाले नियमित औषधी सेवन गरिरहेका छन ।
