messenger sharing button
whatsapp sharing button
sharethis sharing button

जनार्दन पोखरेल

शनिबार बिहान सिराहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा आमा फुलेश्वरी देवी दासको निधन हुँदा ललिता दास (तत्मा) सँगै थिइन्। 

सिराहाकै अर्नमा गाउँपालिका-५ कृष्णपुरकी ६७ वर्षीया फुलेश्वरीको शव अस्पतालबाट झण्डै तीन किलोमिटर टाढा रहेको कमला नदीस्थित बडेर्वाघाट पुर्‍याउने तयारी सुरु भयो। मलाम जान आफन्त, इस्टमित्र जम्मा हुन थाले।

मधेश प्रदेशसभाकी सदस्यसमेत रहेकी जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य ललिताले आफ्ना दुई दाजुभाइ (सूर्यनाथ र देवनाथ) सँगै आमाको शव काँध थाप्ने र सँगै घाटसम्म पुग्ने विचार गरिन्। दुई दाजुभाइ र तीनजना दिदी बहिनीलाई उनले यो कुरा सुनाइन्। 

दाजुभाइ र दिदी बहिनीले उनको प्रस्ताव स्वीकार गरे। तर, गाउँका कतिपय पाका मान्छेले भने ‘छोरीले घाट जान नहुने र आमा-बुवाको शव पनि छोरीले बोक्न हुँदैन’ भन्न थाले। छोरा र पुरुष मान्छेले मात्रै शव बोकेर घाट पुर्‍याउनुपर्ने पहिलादेखि चलिआएको प्रचलन सम्झाए। 

त्यस्ता मान्छेलाई ललिताले सम्झाइबुझाइ गरिन्। 

जब ललितासँगै उनकी जेठी दिदी सुनिता, माइली दिदी रीता र कान्छी बहिनी सविता दास आमाको शव काँध थापेर घाटतर्फ अघि बढे, मधेशमा छोरीले शव बोकेको नदेखेका धेरैले मुखामुख गरे, अचम्म माने। 

यतिबेला सिरहाको अर्नमा क्षेत्रमा प्रदेश सांसद ललितासहित उनका दिदी बहिनीले दाजुभाइ सरह आमाको शव बोकेर घाट गएको विषयले निकै चर्चा पाइरहेको छ। 

‘मधेशमा, अझ हाम्रो समुदाय (दलित)मा छोरीले शव बोक्ने, घाट जाने, दाजुभाइ सरह आमाबुवाको काजकिरियामा सहभागी हुने भन्ने विषय कल्पनाभन्दा बाहिर छ,’ सभासद् दासले आइतबार बिहान नेपालखबरसँग भनिन्, ‘छोराछोरी बराबर हुन्, लिंगको आधारमा हुने विभेदलाई हामीले मान्यता दिनु हुँदैन भन्ने सन्देश दिन मैले आमाको शवलाई काँध थापेको हो।’

ललित यतिबेला आफ्ना दाजु सूर्यनाथ दाससँगै कोरामा बसेर आमाको काजकिरियामा पनि सहभागी भइरहेकी छन्। 

उनका दाजु सूर्यनाथ दास सिन्धुलीको लाम्पारटारस्थित तीनपाटन माविका शिक्षक हुन्। 

‘दाजु र मैले कमला नदीमा सँगै आमाको शवलाई दागबत्ती दिएका हौँ,’ ललिताले भनिन्, ‘हाम्रो समुदायमा जसले घाटमा दागबत्ती दिन्छ, उसैले कोरा बस्नुपर्ने चलन छ। त्यही भएर अहिले हामी दाजु बहिनी कोरामा बसेका छौँ।’ 

ललिताको घर सिरहाको लहान नगरपालिका-१ मा पर्छ। उनले दाजुभाइ सरह आमाको काजकिरियामा सहभागी हुने कुरा पति शोभाकान्त दासलाइ सुनाएकी थिइन्। पतिले उनको प्रस्तावलाई त्यतिबेलै स्वीकार गरे। तर, ससुराले भने त्यसमा असहमति जनाएको ललिताले बताइन्। ‘उहाँ (ससुरा) लाई मैले अझै सम्झाउनु पर्नेछ,’ ललिताले भनिन्। 

‘मधेशमा अझै छोरीलाई सन्तानकै मान्यता नदिने चेतना जीवितै छ,’ ललिताले भनिन्, ‘तीन-चारवटी छोरी भएका आमाबुवा आफ्ना छोरा छैनन् भने सजिलैसँग ‘हाम्रा सन्तान भएका छैनन्’ भनिदिन्छन्। त्यस्तो चेतनामा परिवर्तन ल्याउन, समाजमा छोरा-छोरी बराबर हुन् भन्ने सन्देश दिन मैले आमाको शव बोकेर घाट पुर्‍या एको हो। दाजुसँगै म अहिले कोरामा पनि बसेकी छु।’

आफूले जीवित हुँदा पनि आमाको धेरै सेवा गरेको उनले बताइन्। ‘मैले आमालाई मसँगै बस्नुस् पनि भनेको थिएँ,’ उनले भनिन्, ‘तर, उहाँले मान्नु भएन। उहाँ दाजु-भाइसँगै बसेपनि मैले उहाँलाई सबै ढंगले सहयोग गर्दै आएको थिएँ।’

सिरहा घर भएका पुराना पत्रकार रामरिझन यादव सभासद् ललिता दासले आमाको शव काँध थालेको विषयले मधेशमा ठूलो सन्देश दिएको बताउँछन्। 

उनले सामाजिक सञ्जालमार्फत् पनि ललिताको विद्रोहको प्रशंसा गरेका छन्। उनले आफूले पनि पाँच वर्षअघि आमाको निधन हुँदा आठजना दाजुभाइ र दिदीबहिनी मिलेर विराटनगरको घाटमा एकसाथ आमालाई दागबत्ती दिएको स्मरण गरे। 

‘माननीय ललिताले जसरी सबै दिदी बहिनीलाई साथमा लिएर आमाको पार्थिव शरीरलाई कमला नदीसम्म पुर्याइन्, यसबाट मधेशका छोरीहरुले धेरै कुरा सिक्न सक्छन्,’ यादवले नेपालखबरसँग भने, ‘आमा-बुबा छोराका मात्र हुँदैनन्। तर, हाम्रो ब्राह्मणवादी समाजले छोरालाई मात्रै आमाको काजकिरिया गर्न लगाएर उसलाई मात्रै उत्तराधिकारीको पगरी गुथाईदिन्छ। जुन बिल्कुल गलत हो।’

उनले सांसद ललितको कदमलाई सिरहामा नौलो सुरुवातको संज्ञा दिए। 

उनले अब मधेशमा ब्राम्हणवादी मृत्यु संस्कारका दिन छोट्याउनु पर्ने र मृत्यु संस्कारपछि हुने यादववादी भोज पनि हटाउनुपर्ने बताए।