सुनसरीको सदरमुकाम इनरुवामा जिल्ला बहुउदेश्यीय सहकारी संघ लि. सुनसरीको दशौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष केदार प्रसाद न्यौपानेको अध्यक्षतामा शुक्रबार इनरुवा स्थित राष्टिय कर्मचारी संगठनको भवनमा १० औं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संघको बार्षिक साधारण सभाको उद्घाटन सभामा सम्बोधन गर्नुहुदै राष्टिय सहकारी महासंघका उपाध्यक्ष तथा संविधान सभा सदस्य समेत रहनुभएका ओमदेवी मल्लले जिल्लाका बहुउदेश्यीय सहकारीहरुलाई अव उत्पादनसंग जोड्नु पर्ने बताउनुभयो । उहाँले सहकारी संस्थाहरुले वित्तिय कारोबारका अतिरिक्त उत्पादनशिल क्षेत्रमा समेत काम गर्नुपर्ने बताउनुभयो । उहाँले सहरकारी संस्थाहरुको ध्यान अब स्थानीय उत्पादन, उद्योग, कृषि, पर्यटन तथा कलकारखाना संचालन तर्फ जानु पर्नेमा जोड दिनुभयो । सहकारीलाई उत्पादन संग जोड्नुपर्ने र आयआर्जनको माध्यम समेत बनाउन सक्नुपर्ने बताउनुभयो । विगतमा जसरी सहकारी चल्यो त्यसैअनुसार चलाउदाँ अव गुन्जायस नभएको भन्दै अब उत्पादन क्षेत्रमा लाग्नुपर्ने बताउनुभयो ।


सभामा कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहताले सहकारीहरु पच्छिलो समय बदनाम हुदै गएकाले त्यसबाट सचेत रहदै इमान्दारीता पूर्वक सहकारीले काम गरे मात्र देशले आर्थिक विकास गर्न सक्ने बताउनुभयो ।
राष्टिय सहकारी महासंघ लि. नेपालका सञ्चालक शिवकुमार डागीले मुलुक आर्थिक संकटमा रहेको गुनासोलाई सम्बोधन गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले अब सहकारीसंग रहेको पूँजी परिचालन गर्न सरकारले सक्नु पर्ने र आर्थिक संकट टार्न तर्फ लाग्नुपर्ने बताउनुभयो । त्यसो गरे देशको आर्थिक संकट हटाउन र देशको आर्थिक बिकासका लागि ठुलो योगदान पुर्याउन सकिने बताउनुभयो ।
बार्षिक साधारण सभामा राष्टिय सहकारी महासंघ लि. नेपालका सञ्चालक अमृत सुब्बा, राष्टिय सहकारी महासंघ लि. नेपालका लेखा समिति सदस्य सोमबहादुर श्रेष्ठ, जिल्ला सहकारी संघ लि.सुनसरीका गंगाप्रसाद दाहाल, गोमा गिरी, भोलाकाजी बस्नेत, राजेन्द्र धमला , नेपाल पत्रकार महासंघका पूर्व कोशी प्रदेश सदस्य जयकृष्ण यादव तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
सभाको बन्द सत्रले सचिवद्धारा प्रस्तुत प्रतिवेदन, कोषाध्यक्षद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजकद्धारा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कार्यक्रमको संचालन मेघराज न्यौपानेले गर्नुभएको थियो ।